
सिरहा- लहान बजारमा बिक्रीका लागि राखिएका आँप विषादीरहित पाइएको छ। सोमबार बजार अनुगमनका क्रममा यहाँका पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने १० वटा फलफूल पसलमा अनुगमन गर्दा व्यापारीले आँप पकाउनका लागि मानव स्वास्थ्यलाई असर गर्ने हानिकारक विषादीको प्रयोग नगरेको पाइएको हो।
इलाका प्रशासन कार्यालय लहान, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय राजविराज, लहान नगरपालिका कृषि विकास शाखा, सुरक्षाकर्मी तथा पत्रकार सम्मिलित टोलीले संयुक्त रुपमा अनुगमन गरेका थिए।
अनुगमनमा आँप पकाउन प्रतिबन्धित ‘क्याल्सियम कार्बाइड’ प्रयोग गरेको नभेटिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय राजविराजका खाद्य निरीक्षण अधिकारी राजिन बुढाथोकीले बताए।
‘बजारमा मानव स्वास्थ्यलाई तत्काल असर गर्ने प्रतिबन्धित ग्यास प्रयोगमार्फत फलफूल पकाएर गरिने बिक्रीलाई निरुत्साहित गर्ने उद्देश्यले बजार अनुगमन गरिएको थियो। तर, मानव स्वास्थ्यका लागि हानिकारक मानिने क्याल्सियम कार्बाइड प्रयोग गरेको पाइएन’, खाद्य निरीक्षक बुढाथोकीले भने।
सिरहालाई आँपको राजधानी मानिन्छ। लहान नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष रायका अनुसार स्थानीय उत्पादनलाई प्रवर्द्धन र किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले नगरपालिकाले बर्सेनि यहाँ उत्पादित आँपको ‘ब्राण्डिङ’ गर्ने गरेको छ।
गत वर्ष ५० मेट्रिक टन बढी मालदह आँप ब्राण्डिङ गरी काठमाडौँलगायत देशका विभिन्न सहरमा बिक्री वितरण गरेको नगरपालिकाको कृषि शाखाले जनाएको छ। यस वर्ष पनि उक्त कार्यलाई निरन्तरता दिने कृषि शाखाका संयोजक बद्रीनारायण चौधरीले जानकारी दिए।
उनका अनुसार असारको पहिलो सातादेखि मालदह आँप बजारमा आउन थाल्ने भएकाले सोहीअनुरुप सङ्कलन गरी पठाउन तयारी गरिएको छ। लहानको वडा नम्बर १२, १३, १४, १५, १८, १९, २३ र २४ लाई आँपको पकेट क्षेत्र मानिन्छ।