
काठमाडौँ– यातायात व्यवसायीले एक महिनापछि राइड सेयरिङको नियम लागू हुने गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ तथा यातायात मजदुर संघसंगठन र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबीच सोमबार काठमाडौँमा भएको छलफलमा यातायात व्यवसायीहरुले सार्वजनिक यातायातलाई व्यवस्थित गर्नुको सट्टा एक महिनापछि राइड सेयरिङको नियम लागू हुने गण्डकीका मुख्यमन्त्री पाण्डेले अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएका हुन्।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले गण्डकीका मुख्यमन्त्रीको अभिव्यक्तिले सार्वजनिक यातायात क्षेत्रलाई पुनः आन्दोलन गर्ने अवस्था सिर्जना गर्न खोजेको बताए।
उनले हालै सरकार र यातायात व्यवसायीबीच भएको सहमति कार्यान्वयतर्फ ध्यान दिन सुझाव दिए। सिटौलाले रोजगारीका नाममा राइड सेयरिङलाई प्रश्रय दिएर लाखौँको संख्याका मजदुरलाई समस्या पर्ने काम गर्न नहुने बताए। राइड सेयरिङका नाममा उपत्यकालाई अस्तव्यस्त बनाइएको आरोप उनको छ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले कानुनअनुसार ट्राफिक प्रहरीले काम गर्ने बताए। उनले प्राविधिक तवरले सडक व्यवस्थापनमा ध्यान दिने, ट्राफिक प्रहरीको कामकारबाही प्रभावकारी बनाउने प्रतिबद्धता जनाए।