शिक्षक नियुक्तिमा अनियमितता, चितवनका ६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा

हिमाल प्रेस २६ जेठ २०८२ ११:३४
476
SHARES
शिक्षक नियुक्तिमा अनियमितता, चितवनका ६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चितवनको नेपाल नमुना माध्यमिक विद्यालयमा अवैध रूपमा शिक्षक स्थायी नियुक्ति गरिएको भन्दै विद्यालय व्यवस्थापन समितिका तत्कालीन पदाधिकारी र एक शिक्षकमाथि भ्रष्टाचारको आरोपमा विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ।

विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष तिलकराज शर्मा पौडेल, सदस्यहरू लेखनाथ आचार्य, मेनुका लम्साल, शिक्षक प्रतिनिधि दीपक चन्द्र शर्मा, सदस्य सचिव तथा प्रधानाध्यापक बुद्धिराज सुवेदी र शिक्षक विजया सुवेदीविरुद्ध मुद्दा दायर गरिएको हो।

शिक्षक विजया सुवेदीलाई कानुनले नदिएको अधिकार प्रयोग गरेर विद्यालयले स्थायी नियुक्ति दिएको अख्तियारको निष्कर्ष छ। विजया सुवेदी तत्कालीन अध्यक्ष पौडेलकी छोरी तथा प्रधानाध्यापक सुवेदीकी श्रीमती भएको पाइएको छ।

उनीहरूकै संलग्नतामा बनाइएको ‘शिक्षक तथा कर्मचारी समायोजन एवं व्यवस्थापन विनियम’ प्रयोग गरी सुवेदीलाई तृतीय श्रेणी सरह स्थायी नियुक्ति दिइएको अख्तियारले जनाएको छ।

अख्तियारका अनुसार विद्यालयको स्रोतबाट स्थायी नियुक्ति दिने अधिकार विद्यालय व्यवस्थापन समितिसँग छैन तर उनीहरूले अधिकार नहुँदै पनि दीर्घकालीन आर्थिक दायित्व पर्ने निर्णय गरेका छन्। शिक्षा मन्त्रालयको रायअनुसार पनि यस्तो नियुक्ति प्रचलित कानुनविपरीत रहेको स्पष्ट गरिएको छ।

प्रधानाध्यापक सुवेदीले नियुक्ति पत्र प्रदान गरेको र प्रक्रिया मिलाउन स्वयं विनियमसमेत बनाएको भन्दै विजया सुवेदीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ अनुसार मुख्य कसुरदार सरहको सजाय माग गरिएको छ। अन्य पाँचजनामाथि भने ऐनको दफा १५ अनुसार कारबाही माग गरिएको छ।

 आयोगले आइतबार सबै अभियुक्तहरूविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको हो।

प्रकाशित: २६ जेठ २०८२ ११:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast