
काठमाडौँ- अमेरिकाबाट डिपोर्ट गरिएका ३७ नेपाली आइतबार राति चार्टर्ड विमानमार्फत काठमाडौँ आइपुगेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रवक्ता अञ्जन न्यौपानेका अनुसार फर्काइएका नेपालीमध्ये ३२ जना पुरुष र ५ जना महिला छन्।
उनीहरूलाई डिपोर्ट गरिने जानकारी एक हप्ता अघिनै अमेरिकी दूतावासमार्फत आएको थियो। अध्यागमन कार्यालयले उनीहरूलाई प्रारम्भिक प्रक्रिया पूरा गरी नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोलाई जिम्मा लगाएको छ।
ब्युरोका एसएसपी कृष्ण पंगेनीका अनुसार अमेरिका पुग्ने क्रममा दलालमार्फत ठगिएका हुन् कि भनेर विमानस्थलमै सामान्य सोधपुछ गरिएको छ। सोधपुछपछि घर पठाइनेछ भने उजुरी परेमा मात्र थप अनुसन्धान अघि बढाइनेछ।
डिपोर्ट भएर फर्किएका केही नेपाली बोरा बोकेर विमानस्थलबाट बाहिरिएका थिए भने कतिपय रित्तो हात देखिएका थिए। उनीहरूलाई अमेरिका प्रवेशमा अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा निष्कासन गरिएको हो।
डोनाल्ड ट्रम्पको नेतृत्वमा दोस्रो कार्यकालपछि आप्रवासन नीतिमा कडाइ गरिँदै आएको छ। सन् २०२५ को जनवरीदेखि मे महिनासम्म मात्रै १४० जना नेपाली डिपोर्ट भइसकेका छन्।
अध्यागमन विभागका अनुसार डिपोर्ट हुनेहरूमा धेरैले अवैध बाटोबाट अमेरिका पुग्न दलाललाई मोटो रकम बुझाएका छन्।