
ललितपुर- अपाङ्गता भएका व्यक्तिहरूको सशक्तिकरणका लागि महालक्ष्मी नगरपालिकामा दुईदिने डिजिटल साक्षरता तालिम सम्पन्न भएको छ।
बाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालयको साझेदारी, महालक्ष्मी नगरपालिकाको समन्वय तथा अपाङ्गता सशक्तिकरण समाज नेपालको आयोजनामा सञ्चालन गरिएको तालिम आइतबार सम्पन्न भएको हो।
समापन कार्यक्रममा महालक्ष्मी नगरपालिकाकी उपप्रमुख लक्ष्मी महर्जनले आगामी आर्थिक वर्षमा अपाङ्गता भएका व्यक्तिहरूका लागि डिजिटल साक्षरतासम्बन्धी सीप अभिवृद्धिका विशेष कार्यक्रम ल्याइने प्रतिबद्धता जनाइन्। उक्त कार्यक्रमले नगरभित्रको अपाङ्गता समुदायका लागि कोशेढुंगा सावित हुने बताइन्।
उपप्रमुख महर्जनले अपाङ्गता भएका नागरिकलाई आत्मनिर्भर बनाउन डिजिटल सिप अभिवृद्धि अति आवश्यक रहेको बताइन्। उनले भनिन्,’समुदायमा आधारित पुनःस्थापना कार्यक्रमअन्तर्गत अपाङ्गता भएका व्यक्तिहरूका लागि दुई दिने डिजिटल साक्षरतासम्बन्धी तालिम आयोजना हुँदा खुसी लागेको छ। तालिम प्रभावकारी रूपमा लक्षित समुदायप्रति पुगेको छ। तालिममा सहभागी दाजुभाइ दिदीबहिनीहरूलाई आगामी दिनमा महालक्ष्मी नगरपालिकाद्वारा आर्थिक रूपमा सशक्त बनाउन डिजिटल मार्केटिङका कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धताका साथ सदैव साथ र सहयोग दिने छु।’
कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष टेकनाथ न्यौपानेले गरेका थिए भने समापन सत्रमा उपप्रमुख महर्जन प्रमुख अतिथि थिइन्। संस्थाका महासचिवसमेत रहेका इञ्जिनियर कृष्ण महर्जनले कार्यक्रम संयोजन गरेका थिए भने सहजकर्ता इञ्जिनियर श्रीकृष्ण खनाल र अन्य अतिथिहरूको उपस्थिति रहेको थियो।
तालिममा शारीरिक, बौद्धिक, सुस्त श्रवण भएका अपाङ्गता भएका व्यक्तिहरू तथा उनीहरूको अभिभावकको उल्लेखनीय सहभागिता रहेको थियो। तालिमका क्रममा सहभागीहरूले डिजिटल उपकरणको प्रयोग, अनलाइन पहुँच र आत्मनिर्भर जीवनयापनमा सहायक हुने सीपहरू सिकेको बताए।