
काठमाडौँ- पोर्चुगलले स्पेनलाई पराजित गर्दै युरोपेली नेसन्स लिगको उपाधि आफ्नो नाममा लेखाएको छ। गएराति एलियान्ज एरिनामा भएको फाइनल खेल टाइब्रेकरसम्म पुगेको थियो। पोर्चुगलले ५-३ को जित दर्ता गर्दै उपाधि उचाल्यो।
खेलको निर्धारित ९० मिनेट २-२ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा प्रवेश गरेको थियो। तर, थप समयमै पनि कुनै टोलीले गोल गर्न नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो।
पेनाल्टीमा स्पेनका अल्भारो मोराटा चुकेपछि पोर्चुगलले निर्णायक अग्रता लिएको थियो। खेलको सुरुवातमै स्पेनले लय लिएको देखिएको थियो। २१औं मिनेटमा मार्टिन जुबिमेन्डीले स्पेनलाई अग्रता दिलाएका थिए। तर २६औं मिनेटमा नुनो मेडिजले पोर्चुगलका लागि बराबरी गोल फर्काए।
४५औं मिनेटमा मिकेल ओयरजबालले फेरि स्पेनलाई अग्रता दिलाए तर दोस्रो हाफको ६१औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले उत्कृष्ट गोल गर्दै खेललाई पुनः बराबरीमा ल्याए। त्यसपछि कुनै टोलीले निर्णायक गोल गर्न नसक्दा पेनाल्टी सुटआउटले नतिजा निर्धारण गर्यो।