
इटहरी- सुनसरीको कोशी गाउँपालिका अध्यक्ष ऐयुव अन्सारीविरुद्ध प्रहरीले अनुसन्धान सुरु गरेको छ। ड्युटीमा खटिएका प्रहरीलाई अपशब्द प्रयोग गर्दै गालीगलौज गरेको घटनाबारे प्रहरीले कारबाही प्रक्रिया अघि बढाएको हो।
सुनसरी प्रहरीका अनुसार राष्ट्रसेवक कर्मचारीको काममा बाधा पुर्याएको, हुलहुज्जत तथा अभद्र व्यवहार गरेको अभियोगमा अनुसन्धान अगाडि बढाइएको हो।
प्रहरीको मनोबल गिराउने कार्य गरेको भन्दै अन्सारीविरुद्ध मुद्दा दायर गर्ने तयारी भइरहेको छ। ट्राफिक प्रहरीमाथि अन्सारीले अपशब्द प्रयोग गर्दै गालीगलौज गरेको भिडियो अहिले सामाजिक सञ्जालमा फैलिएको छ। भिडियोमा अन्सारीले निरन्तर प्रहरीमाथि अपमानजनक शब्द प्रयोग गरेका छन्।
कोशी कटान क्षेत्रमा खटिएका प्रहरीमाथि अध्यक्ष अन्सारीले अपशब्द प्रयोग गर्दै गाली गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि उक्त भिडियोका कारण अन्सारीप्रति आलोचना चुलिएको छ।
सुनसरीका प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाले आवश्यक कागजात संकलनको काम सकिएको जानकारी दिए। ‘ड्युटीमा रहेका प्रहरीमाथि सार्वजनिक स्थलमा अभद्र व्यवहार तथा गालीगलौज गरेको अभियोगमा मुद्दा दर्ता प्रक्रिया अघि बढाइएको छ,’ तिम्सिनाले भने, ‘माथिल्लो निकायमा पनि जानकारी गराइएको छ।’
यस्तो छ घटना
घटना दुई दिनअघि (जेठ २३) गतेको हो। को १ त ४९४३ नम्बरको बाँस लोड गरिएको ट्र्याक्टर ओभरलोड पाइएपछि ट्राफिक प्रहरीका असई रामराज यादवले रोकेका थिए। नियमानुसार ट्र्याक्टरलाई जरिबाना गर्ने क्रममा चालकले गाउँपालिका अध्यक्ष अन्सारीलाई फोन गरेका थिए। फोन गरेपछि घटनास्थल पुगेका अध्यक्ष अन्सारीले तथानाम गाली गर्दै पटकपटक अपशब्द प्रयोग गरेका थिए। ती चालक भने अध्यक्ष अन्सारीका आफन्त भएको बताइएको छ।
अध्यक्ष अन्सारीले प्रहरीलाई घुस खाएको आरोपसमेत लगाएका छन्। केही दिनअघि पनि ओभरलोडमा दूध बोकेको मोटरसाइकल कारबाहीमा परेको विषयलाई समेत उनले विवादको रूपमा जोड्दै ‘दूध फाटेको’ आरोप प्रहरीमाथि लगाएका थिए।
भिडियो सार्वजनिक भएपछि चर्किएको आलोचनाबीच अध्यक्ष अन्सारीले उक्त भिडियो आफूले नबोलेको दाबी गरेका छन्। उनले कृत्रिम बुद्धिमत्ता (एआई) प्रयोग गरी भिडियो बनाइएको भन्दै त्यसप्रति असहमति जनाएका छन्।