गाजामा इजरायली आक्रमणबाट १० जनाको मृत्यु

हिमाल प्रेस २५ जेठ २०८२ १९:२४
4
SHARES
गाजामा इजरायली आक्रमणबाट १० जनाको मृत्यु

गाजा सहर (रासस/एएफपी)- इजरायल र हमासबीचको युद्ध २१ औँ महिनामा प्रवेश गर्दैगर्दा आइतबार गाजामा इजरायली आक्रमणबाट कम्तीमा १० जनाको ज्यान गएको छ। मृतकमध्ये दुई जना बालिकाहरू रहेको गाजाको नागरिक सुरक्षा कार्यालयले जनाएको छ।

कार्यालयका प्रवक्ता महमुद बास्सलका अनुसार, बिहान करिब ६ बजेतिर रफाहको पश्चिम क्षेत्रमा रहेको राहत वितरण केन्द्रतर्फ जाँदै गरेका सर्वसाधारणमाथि इजरायली सेनाले गोली चलाएको थियो। ‘घटनामा पाँच जनाको मृत्यु भएको छ र कैयौँ घाइतेलाई खान युनिसस्थित नासेर अस्पताल पुर्‍याइएको छ,’ उनले भने।

उक्त राहत वितरण केन्द्र अमेरिकाबाट सहयोग प्राप्त गाजा मानवीय सहयोग संस्था नजिकै थियो, जसको कार्यशैली र निष्पक्षतामाथि संयुक्त राष्ट्रस‌ंघ र अन्य मानवसेवा संस्थाहरूले गम्भीर आलोचना गर्दै आएका छन्। संयुक्त राष्ट्रसंघले सो संस्थासँग सहकार्य नगर्ने निर्णय गरेको छ।

इजरायली सेनाले घटनापछि प्रतिक्रिया दिँदै भनेको छ, ‘सैनिकहरूलाई खतरा हुने गरी सर्वसाधारण अगाडि बढेपछि हामीले चेतावनी दिएर मात्र गोली प्रहार गरेका हौँ।’ सेनाका अनुसार उक्त क्षेत्रलाई रातभर ‘युद्ध क्षेत्र’ घोषणा गरिएको थियो।

प्रत्यक्षदर्शी अब्दल्लाह नूर अल–दिनका अनुसार बिहान करिब साढे ४ बजेतिर रफाहको अल–आलाम क्षेत्रमा मानिसहरू जम्मा हुन थालेका थिए। करिब एक घण्टा पछि सयौँ मानिस राहत वितरण केन्द्रतर्फ अगाडि बढेपछि सेनाले गोली चलाएको थियो।

प्रत्यक्षदर्शीहरूका अनुसार, दुई महिनादेखिको पूर्ण इजरायली नाकाबन्दीका कारण खाद्यान्नको चरम अभाव छ र राहत लिन जाँदा ज्यानको जोखिम मोल्नुपरेको छ। गत मेको अन्त्यदेखि अहिलेसम्म राहत वितरण केन्द्रहरूसँगै भएका घटनामा दर्जनौँ मानिसको मृत्यु भइसकेको छ।

त्यसै गरी आइतबार बिहान करिब १ बजेतिर दक्षिणी गाजाको अल–मावासी क्षेत्रमा रहेको विस्थापित शिविरमा भएको आक्रमणमा थप पाँच जनाको मृत्यु भएको छ। तीमध्ये दुई जना बालिकाहरू रहेको प्रवक्ता बास्सलले जानकारी दिए।

प्रकाशित: २५ जेठ २०८२ १९:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast