रास्वपाको तर्क गृहमन्त्री लेखकको सन्दर्भसँग मेल खाँदैन : निधि

हिमाल प्रेस २५ जेठ २०८२ १५:३७
30
SHARES
रास्वपाको तर्क गृहमन्त्री लेखकको सन्दर्भसँग मेल खाँदैन : निधि नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि

काठमाडौैँ- नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले भिजिट भिसा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेकोले संसद सञ्चालनमा अवरोध नगर्न विपक्षी दलहरूलाई आग्रह गरेका छन्।

आइतबार सहिद राधेश्याम जोन्छे स्मृति प्रतिष्ठानले भक्तपुरमा आयोजना गरेको राधेश्याम जोन्छेको शालिक अनावरण तथा प्रतिष्ठानको भवन उद्घाटन कार्यक्रममा उनले यस्तो बताएका हुन्।

‘भिजिट भिसाबारे अख्तियारले छानबिन गरिरहेको छ, त्यसैले संसदलाई माओवादीको तर्फबाट अवरोध नगर्न म आग्रह गर्न चाहन्छु,’ उनले भने।

उनले संसदीय प्रणालीमा आइसकेकाले माओवादीले संसद सञ्चालनमा अवरोध गर्न नहुने उल्लेख गरे। छानबिन भइरहेको अवस्थामा गृहमन्त्रीको राजीनामा माग गरेर संसद अवरुद्ध गराउन राम्रो कुरा नभएको उनको भनाइ छ।

निधिले भिजिट भिसा प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गरिरहेको तर्क गृहमन्त्री रमेश लेखकको सन्दर्भसँग मेल नखाने पनि बताए। रवि लामिछानेको घटनामा बोलेकै कारण भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले राजीनामा दिनुपर्ने कुरा तर्कसंगत नभएको उनले जिकिर गरे।

‘रास्वपाको नेता जस्तो हुँदा पनि होइन, रास्वपाका नेतालाई अनुसन्धान गर्दा पोलेको थियो,’ निधिले भने,‘रवि लामिछानेको घटनामा तपाईँ यस्तो बोल्नु भएको छ, अहिले किन गर्नु हुँदैन भन्ने तर्क यहाँ लागू हुँदैन।’

फरक प्रसंगमा पूर्वसभापति निधिले राजा फर्किन्छ भन्ने कुरा निर्थक रहेको बताए। जनताले पटकपटक साथ दिए पनि धोका दिएकाले अब राजा फर्किने कुनै सम्भावना नरहेको उनले बताए।

‘हुन त आन्दोलन तुहिइसकिएको छ। राजा फर्किन्छ भन्ने निर्थक कुरा हो,’ निधिले भने,‘नेपाली जनताले पटकपटक राजालाई साथ दिएको छ। तर, राजाले हरेकपटक जनतालाई धोका दिएका छन्।’

नेता निधिले मुलुकलाई अघि बढाउन एकताबद्ध भएर अगाडि बढ्नुपर्ने बताए।

प्रकाशित: २५ जेठ २०८२ १५:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast