उद्धार अभ्यासमा बिते सशस्त्र प्रहरी बलका दुई जवान

हिमाल प्रेस २५ जेठ २०८२ १२:५१
24
SHARES
उद्धार अभ्यासमा बिते सशस्त्र प्रहरी बलका दुई जवान हरदेव राजवंशी र सुरज साउद।

काठमाडौँ- सशस्त्र प्रहरी बलका दुई गोताखोरको सप्तकोशीमा डुबेर निधन भएको छ। निधन हुनेमा दन्तकाली विशेष कार्य तालिम शिक्षालय सप्तरीमा कार्यरत सशस्त्र प्रहरी हरदेव राजवंशी र छिन्नमस्ता बाहिनी मुख्यालयमा कार्यरत सुरज साउद रहेको सशस्त्र प्रहरी मुख्यालयले जनाएको छ।

दुवैजना उद्धार अभ्यास गर्ने क्रममा बिहीबार सप्तकोशीमा बेपत्ता भएका थिए। राजवंशीको शव घटना स्थलबाट करिब तीन किलोमिटर दक्षिणमा शुक्रबार फेला पारिएको बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

बेपत्ता गोताखोर साउदको शव आइतबार फेला पारेको सशस्त्र प्रहरी बलले जनाएको छ। कुरिनटार बाट गएका अनुभवी गोताखोर डीएसपी पुरुषोत्तम भण्डारीको टोलीले कोशी ब्यारेजको ५५ नम्बर ढोकानजिकबाट साउदको शव निकालेको हो।

उनको खोजीमा आइतबार बिहानदेखि तीनजना डीएसपीको कमान्डमा ११ जना गोताखोरसहित ६५ जना परिचालन गरिएको थियो।

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ स्थित कोशी नदीमा मनसुनजन्य विपद्को पूर्वतयारीस्वरूप प्रदेशस्तरीय विपद् सेमुलेसन अभ्यासका लागि संयुक्त टोली खटिएको थियो। सोही क्रममा साउद र राजवंशी डुबेका थिए।

पानीको करेन्ट अत्यधिक रहेको ठाउँमा दुर्घटना भएको सशस्त्र प्रहरीको दाबी छ। मृतक दुवैजनाले २०८० र ८१ सालमा गोताखोर तालिम पूरा गरेका थिए। त्यसपछि उद्धारका लागि विभिन्न ठाउँमा खटिएका थिए।

राजवंशीले स्पेसल टास्क फोर्स तालिम, विपद् व्यवस्थापन तालिम र गोताखोर गरी तिनवटा विशेष तालिम लिएका थिए। उनी स्पेसल टास्क फोर्स तालिमका प्रशिक्षकसमेत थिए। साउदले पनि २०८१ सालमा गोताखोर तालिम पूरा गरेका हुन्। सशस्त्र प्रहरीलाई गोताखोर तालिमका क्रममा सप्तकोशी, त्रिशूली तथा फेवातालमा पटकपटक अभ्यास गराइन्छ।

प्रकाशित: २५ जेठ २०८२ १२:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast