
काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल खेलकुद र पर्यटनको उर्वर भूमि भएको र नेपालमा सबैखाले दौडको सम्भावना रहेको बताएका छन्। विश्व म्याराथनको साझा संस्था एसोसिएसन अफ इन्टरनेसनल म्याराथन डिस्टेन्स रेस (एम्स) म्याराथनका पदाधिकारीहरूसँग आइतबार शीतल निवासमा भएको भेटमा राष्ट्रपति पौडेलले सो धारणा व्यक्त गरेका हुन्।
‘सगरमाथाको काखमा साहसिक अल्ट्रा म्याराथनदेखि पश्चिम तराईको नेपालगन्जसम्म लामो दुरीका दौड सफलतापूर्वक भइरहेका छन्। हाम्रो भौगोलिक विविधता सुहाउँदा दौडले पक्कै पनि खेल पर्यटनमा नयाँ सम्भावनाको ढोका खोल्नसक्छ भन्ने मेरो विश्वास छ, यसमा एम्सजस्ता अन्तर्राष्ट्रिय छाता संगठनहरूले प्रोत्साहन गरून् भन्ने हाम्रो अपेक्षा छ’, उनले भने।
राष्ट्रपति पौडेलले विश्वशान्ति, भाइचारा र सद्भावका लागि खेलको ठूलो महत्त्व रहेको बताए। ‘त्यसमा पनि दौड संस्कृतिले स्वस्थ, स्वस्थ प्रतिस्पर्धा र समुन्नत समाजको निर्माणमा मद्दत पुग्दछ भन्ने मेरो विश्वास छ’, उनले भने।
नेपालले पनि खेलकुदको विकासका लागि प्रयत्न गरिरहेको र सरकारले खेलकुदमा बर्सेनि लगानी बढाइरहेका कारण निजी क्षेत्रबाट पनि खेलकुदमा आकर्षण बढ्दै गएको बताए।
राष्ट्रपति पौडेलले एम्सको बोर्ड बैठकका लागि नेपाललाई छनोट गरेकोमा धन्यवाद दिए। खेलकुद् र पर्यटनलाई जोड्नेगरी नेपाल हेरिटेज रन काठमाडौँ २५ के रेस शुभारम्भ भएको थाहा पाउँदा आफूलाई खुसी लागेको राष्ट्रपति पौडेलको भनाइ थियो।