माधव नेपालमाथि लागेका नमेटिने दाग

किरण पौडेल २५ जेठ २०८२ १६:५४
48
SHARES
माधव नेपालमाथि लागेका नमेटिने दाग माधवकुमार नेपाल

काठमाडौँ– पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल विगत पाँच दशकदेखि नेपाली राजनीतिमा सक्रिय एकजना प्रमुख पात्र हुन्। पञ्चायत ढाल्नेदेखि गणतन्त्र स्थापनासम्म, माओवादीलाई मूलधारमा ल्याउनेदेखि संविधान निर्माणसम्मका विभिन्न राजनीतिक मोडमा सक्रिय रहेका यी नेता अहिले भ्रष्टाचार आरोप लागेपछि चर्चामा छन्।

नेपाल आफूलाई संस्कारी, घुस नखाने, अपमान नसहने र इज्जतको राजनीति गर्ने नेताका रूपमा चिनाउँछन्। एकीकृत समाजवादीका अध्यक्षसमेत रहेका नेपाल कोही नेतामाथि कटाक्ष गर्दा भन्ने गर्छन्, ‘मलाई मेरो बुवाले गलत संस्कार दिनुभएको छैन। म गलत संस्कारमा हुर्किनँ।’ संस्कारी बन्न रुचाउने नेपाल आफूले कहिल्यै घुस नखाएको दाबीसमेत गर्छन्। अध्यक्ष नेपालमाथि अहिले लागेको भ्रष्टाचार मुद्दाले भने उनीमाथि गम्भीर नैतिक प्रश्न उब्जाएको छ।

२०२६ सालदेखि वामपन्थी राजनीतिमा संलग्न ७२ वर्षीय नेपाल अधिकांश समय पदमा छन्। एमाले, नेकपा र एकीकृत समाजवादीमा उनको सक्रियता उस्तै छ। त्यस्तो त नेपाल नेपाली राजनीति परिवर्तनका एक साक्षी हुन्। नेपाल र नेपालजस्तै नेताहरूको योगदानका कारण पञ्चायत ढल्यो, विद्रोही माओवादी शान्ति प्रक्रियामा आयो भने जनताबाट चुनिएका प्रतिनिधिबाट संविधान बन्यो। अहिले राजनीतिक रूपमा जेजस्ता उपलब्धि प्राप्त भएका छन्, ती सबै उपलब्धिमा अध्यक्ष नेपालको पनि योगदान छ।

गणतन्त्रका लागि आन्दोलन हुँदा सधैँ नेपाल आन्दोलनको अग्रमोर्चामै रहन्थे। नेताहरूका अनुसार गणतन्त्र ल्याउनमा कम्युनिस्ट पार्टी (तत्कालीन खुलामध्ये) बाट सबैभन्दा बढी भूमिका नेपालकै थियो। उनी जति राजनीतिक जीवन उच्च बन्दै गयो, उति विवादका विषय पनि आउन थाले।

राजनीतिमा उनको जति योगदान छ त्यति नै नमिठो विगत छ। त्यस्ता घटनाका कारण उनको राजनीति जीवन त्यति सङ्लो देखिँदैन। यतिबेला उनीमाथि पतञ्जली योगपीठ तथा आयुर्वेदिक कम्पनीको जग्गा हिनामिनामा मुद्दा लागेको छ। उक्त  प्रकरणअघि पनि सँगसँगै नेपाल जोडिएका केही यस्ता घटना छन्, जसले उनको राजनीतिक जीवनमा कालो दाग लाग्दै आएको छ। उनका पूर्वसहयात्री राधाकृष्ण मैनाली नेपालले प्रश्न उठ्ने काम विगतबाटै गरेको स्मरण गर्छन्। प्रस्तुत छ- माधव नेपालमाथि लागेका केही दाग :

१. पतञ्जलीको जग्गा हिनामिना प्रकरण

‘म छातीमा हात राखेर भन्न सक्छु- मैले कसैको केही बिगारेको छैन’, घुस नखाएको, संस्कारमा हुर्किएको, अपमान नगरेको र अपमान नसहेको दाबी गर्ने यिनै नेतामाथि भ्रष्टाचार मुद्दा लागेको छ। अध्यक्ष नेपालमाथि पतञ्जली जग्गा हिनामिना प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १८ करोड ५८ लाख ५० हजार बिगो मागदाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ। पतञ्जली योगपीठ तथा आयुर्वेदिक कम्पनीको काभ्रेमा रहेको हदबन्दी छुटको जग्गा व्यक्तिका नाममा गराउन संलग्न भएको आरोपमा आयोगले अध्यक्ष नेपालविरुद्ध मुद्दा हालेको हो।

नेपाल २०६६ जेठ ११ देखि २०६७ माघ २२ गतेसम्म प्रधानमन्त्री बनेका बेला जग्गा हिनामिना भएको अख्तियारको आरोप छ।  यो मुद्दामा दोषी ठहरिए उनको राजनीतिक जीवन सकिनेछ भने नैतिकताको प्रश्न जीवित रहिरहनेछ। मुद्दा लागेपछि नेपालले प्रतिनिधिसभा सदस्य र संसदीय दलको नेता पद गुमाएका छन्। घटनाक्रम बढ्दै जाँदा केके गुम्ने हुन्? थाहा छैन।

२. ललिता निवास प्रकरणमा पनि मुछिए

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७६ माघमा बालुवाटारस्थित प्रधानमन्त्री निवाससँग जोडिएको १४३ रोपनीभन्दा बढी सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरिएको विषयमा १७५ जनालाई विपक्षी बनाएर मुद्दा दर्ता गरेको थियो। ललिता निवासको जग्गा व्यक्तिका नाममा दर्ता गर्ने क्रममा मन्त्रिपरिषद्‌बाट पटकपटक निर्णय भएको अख्तियारको दाबी थियो। यस्तो निर्णय गर्ने मन्त्रिपरिषद् बैठकको अध्यक्षता गर्ने दुई प्रधानमन्त्री माधवकुमार नेपाल र बाबुराम भट्टराईविरुद्ध भने आयोगले मुद्दा नचलाउने निर्णय गरेको थियो।

२०६६/०६७ मा नेपाल नेतृत्वको मन्त्रिपरिषद्ले प्रधानमन्त्री निवास बालुवाटार विस्तार गर्ने निर्णय गरेको थियो। त्यही बेला नक्कली मोही खडा गरेर बालुवाटारको जग्गा व्यक्तिका नाममा सारिएको थियो। यस प्रकरणमा नेता नेपालसँग प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबीले) लिखित बयान लिएको थियो।

३. जस्केलाबाट संसद् छिरेर प्रधानमन्त्री

२०६४ सालमा सम्पन्न संविधानसभाको पहिलो निर्वाचनमा माधवकुमार नेपाल रौतहट र काठमाडौँ दुई ठाउँबाट चुनाव लडेका थिए। उनी दुवै ठाउँमा पराजित भए। पार्टीले पनि लज्जास्पद हार व्यहोरेपछि नेपालले नैतिकताका आधारमा भन्दै महासचिव पदबाट राजीनामा दिए। यद्यपि उनको त्यो नैतिकता धेरै टिक्न सकेन। उनी विवादास्पद ढंगमा संसदीय राजनीतिमा प्रवेश गरे।

एमालेका समानुपातिक सांसद सुशीलचन्द्र अमात्यलाई राजीनामा गराएर माधव नेपाल सांसद् मात्रै होइन प्रधानमन्त्रीसमेत बनेका थिए। त्यही बेला प्रधानमन्त्री बनेका नेपाल ललिता निवास र पतञ्जलीको जग्गा प्रकरणमा मुछिएका हुन्।

४. प्रधानमन्त्री पदका लागि दरबारमा बिन्तीपत्र

२०५९ असोज १८ गते राजा ज्ञानेन्द्रले संसद् विघटन गराए। निर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवालाई बर्खास्त गरेपछि प्रधानमन्त्रीमा मनोनीत प्रथा थालिएको थियो। सोही क्रममा नेपाल राजासमक्ष बिन्तीपत्र चढाउन पुगेका थिए। उनले २०६० जेठ १९ गते आफूलाई प्रधानमन्त्री नियुक्त गर्न तत्कालीन राजा ज्ञानेन्द्रसँग बिन्तीपत्र चढाएका थिए।

कांग्रेसलगायतका दलले भने राजाको कदमको विरोध गरिरहेका थिए। उनको बिन्तीपत्रले काम गरेन। राजा ज्ञानेन्द्रले २०६१ जेठमा प्रधानमन्त्रीमा देउवालाई  पुनर्स्थापना गरे। त्यस घटनालाई माधवकुमार नेपाल नेतृत्वको एमालेले प्रतिगमन आधा सच्चिएको प्रतिक्रिया दिँदै दरबारको समर्थन गरेको थियो।

५. मदन भण्डारीको रहस्यमय निधनबारे मौन

एमालेका तत्कालीन महासचिव मदनकुमार भण्डारीको चितवनको दासढुंगामा २०५० जेठ ३ गते जिप दुर्घटनामा निधन भएपछि पार्टीले माधवकुमार नेपाल पार्टी महासचिव बनायो। भण्डारीको निधनपछि घटना अनुसन्धानका लागि एमालेले राजधानीसहितका देशका विभिन्न ठाउँमा सडक आन्दोलन गर्‍यो। त्यति बेला राजधानीका सडकका धेरै रेलिङ भाँचिए। दासढुंगा दुर्घटनापछि एमालेले शोकमा शक्तिमा बदलौँ भनेर थालेको आन्दोलन बिस्तारै मत्थर हुँदै गयो। बरु त्यो दुर्घटनापछि भण्डारीकी पत्नी विद्यादेवी भण्डारी अघि सार्‍यो।

विद्या भण्डारी बिस्तारै शक्तिमा आएपछि मदनको रहस्यमय मृत्यु ओझेलमा पर्न थाल्यो। २०५१ मंसिरमा मनमोहन अधिकारी नेतृत्वको सरकारमा नेपाल उपप्रधानमन्त्री थिए। उनी निरन्तर १५ वर्षसम्म पार्टीको महासचिव बनेका नेपाल २०६६ जेठ ११ देखि २०६७ माघ २२ गतेसम्म प्रधानमन्त्री बनेका थिए। पार्टीको कार्यकारी महासचिव, उपप्रधानमन्त्री र प्रधानमन्त्री बने पनि मदन भण्डारीको रहस्यमय निधनबारे कुनै खोजअनुसन्धान अघि बढेन। एमालेबाट त्यसपछि केपी शर्मा ओली प्रधानमन्त्री भए भने विद्यादेवी भण्डारी राष्ट्रपति भइन्। तर दासढुंगा घटना इतिहासको गर्तमा सीमित भयो।

६. महाकाली सन्धिको समर्थनमा ‘अराष्ट्रिय’ काम

घटना २०५१ सालतिरको हो। माधवकुमार नेपाल महाकाली सन्धिको बलिया समर्थक थिए। केपी शर्मा ओलीले महाकाली सन्धिपछि नेपालले बिजुली बेचेर धनी हुने अभिव्यक्ति दिएका थिए। त्यसपछि संसद्को दुईतिहाईभन्दा बढी मतले पारित भएपछि २०५२ माघ २९ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरसिंह रावले महाकाली सन्धिमा हस्ताक्षर गरेका थिए।

महाकाली सन्धिका पक्षमा लागेको आरोपमा २०५६ सालको चुनावमा वामदेव गौतम नेतृत्वको नेकपा मालेले माधव नेपाल र केपी ओली समूहमाथि राष्ट्रघातीको आरोप लगाएको थियो।

अध्यक्ष नेपालका पूर्वसहयात्री राधाकृष्ण मैनाली महाकाली सन्धिका सम्बन्धमा नेपालले राजनीतिक जीवनमै ‘अराष्ट्रिय’ काम गरेको बताउँछन्। ‘महाकालीको पानी नेपाल-भारतले बराबर बाँड्ने पूर्वसहमति थियो तर नेपालले नियमविपरीत सम्झौतामा साथ दिए। महाकाली सम्झौतालाई संसद्‌बाट पेस गर्न पनि नेपालले ठूलै भूमिका निर्वाह गरे’, मैनालीले भने। यही कारण २०५४ सालमा एमाले पार्टी विभाजित भएर माले बनेको थियो।

अरुण तेस्रो हाइड्रोपावर भारतलाई बेच्न पनि नेपालले ‘चलखेल’ गरेको आरोप मैनालीको छ। ‘पहिले नेपालले बनाउने गरेको भन्ने थियो तर उहाँले भारतलाई दिनुभयो,’  मैनालीले भने।

नेपालको ‘हेपाहा प्रवृत्ति’

पूर्वसहयात्री मैनाली  विगतका घटना मेटिँदै गए पनि पतञ्जली जग्गा प्रकरणले नेपालको राजनीतिक जीवनमा घाटा हुने बताउँछन्। ‘उहाँ (नेपाल) नैतिकता देखाउने तर अलि बढी बदला लिने किसिमको नेता हो। अहिले ओलीले एमालेमा जे गरेका छन्, त्यो नेपालबाट सिकेका हुन्,’ उनी भन्छन्, ‘नेपाल एकदमै हेपाहा व्यवहारबाट अहिले त्यो अवस्थामा पुगे। अब उनको राजनीतिक जीवनमा धब्बा लाग्ने देखिन्छ।’

पार्टी एकजुट बनाउन उनको सक्रियता थिएन। ‘पार्टी विभाजनले पनि नेपाललाई असर गरेन। एक हुन पनि आग्रह गरेनन्’, मैनाली भन्छन्। ठूलो पार्टीको नेताबाट सानो पार्टीको नेता, सत्तारुढबाट प्रतिपक्षीमा खुम्चिँदै गरेका बेला यसरी भ्रष्टाचारकै आरोप लाग्नु सामान्य कुरा होइन।

नेपालमाथि मुद्दा लाग्दा केही इतिहास पनि बनेका छन्। हालसम्म नेपालका कुनै पनि पूर्वप्रधानमन्त्री भइसकेका नेतालाई भ्रष्टाचार मुद्दा लागेको थिएन। अर्को, मन्त्रिपरिषद्को निर्णयविरुद्ध अख्तियारमा मुद्दा पुगेको थिएन। त्यसैले प्रधानमन्त्री भइसकेका व्यक्तिमाथि मुद्दा लगाउन हुने या नहुनेमा बहस हुन थालेको छ। कतिपयले ‘सरकारभन्दा अख्तियार पो माथि!’ भनेर पनि टिप्पणी गर्न थालेका छन्।

मुद्दा परेपछि नेपाल तनावमा देखिन्छन्। उनले नेतृत्व गरेको नेकपा एकीकृत समाजवादी पनि उकुसमुकस बनेको छ। नेपालले यसबाट मुक्ति पाउलान् वा ‘कलंकको टीका’ भिलार्न र? त्यो त समयले देखाउनेछ। तर भ्रष्टाचारको मुद्दा भिरेको आरोप नेपालको जीवनमा सधैँ लाग्ने निश्चित छ। अध्यक्ष नेपाल आफैँ पनि प्रश्न उठ्नुलाई स्वाभाविक ठान्छन्। उनी भन्छन्, ‘राजनीति गर्ने मान्छेलाई मात्र होइन, जन्मेपछि व्यक्तिमाथि प्रश्न उठ्छ।’

नयाँ पार्टीपछि झन् ओरालो 

२०७७ पछि एमालेमा उत्पन्न विवादका कारण नेपाल पार्टीबाट अलग भए। उनको नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) गठन भयो। त्यसबेलादेखि नेपालको राजनीतिक जीवनमा ओरालो यात्रा सुरु भएको जानकारहरू बताउँछन्। आमनिर्वाचनमा एकीकृत समाजवादी राष्ट्रिय पार्टी बन्न सकेन। कार्यकर्ता एमालेतर्फ फर्किने लहर चल्यो। उनकै पार्टीमा पनि गुटउपगुटको जन्म भयो।

नेपाल अनुसन्धानमा तानिएपछि अनेक प्रश्न उठेका छन्। ओलीले नेपाल र समाजवादीप्रति ‘रिसइबी’ साँधेको आरोप लागेको छ।

समाजवादी पार्टीले नेपालमाथि राजनीतिक बदलामा प्रेरित र षड्यन्त्र भएको आरोप लगाएको छ। ‘यस्ता घटनालाई दुवै किसिमले हेर्नुपर्छ। विगतमा राजनीतिक रूपमा समेत कसैमाथि लागेका छन् भने कतै संवैधानिक निकायले तटस्थरूपै गरेका पनि छन्,’ अधिवक्ता इन्द्र अर्याल भन्छन्, ‘लोकमानसिंह कार्की प्रमुख आयुक्त हुँदाका घटना हेर्दा यस्ता घटेका देखिन्छन्। तर सधैँ प्रतिशोधकै रूपमा अघि बढ्छन् भन्न सकिन्न।’

प्रकाशित: २५ जेठ २०८२ १६:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast