
काठमाडौँ- ‘रातो पासपोर्ट’ नामक नेपाली फिल्म बन्ने भएको छ। निर्माण पक्षले मिनिमल पोस्टर सार्वजनिक गर्दै आइतबार फिल्मको घोषणा गरेको हो। पोस्टर पोर्चुगलको पासपोर्टको कभर पेजको स्टाइलमा तयार पारिएको छ।
फिल्ममा रातो पासपोर्ट पाउने उद्देश्यले युरोपेली देशमा नेपालीहरूले गर्ने सङ्घर्षको कथामा आधारित हुने निर्माण टिमले जनाएको छ। फिल्म सिमसोन तामाङले निर्देशन गर्नेछन्। निर्देशक तामाङले ‘बाउन्सरड, ‘बडी गार्ड’, ‘लभ सब’,‘ऐश्वर्य’, ‘लप्पन छप्पन २’लगायत फिल्ममा सहायक निर्देशक र एक्सन निर्देशकका रुपमा काम गरिसकेका छन्।
माइकल तामाङको कथा रहेको फिल्मको पटकथा तथा संवाद प्रदीप कुमार चौधरीले तयार पारेका छन्। फिल्मका निर्माता लोक बहादुर तामाङ हुन्। निर्देशक प्रवेश पौडेल फिल्मको कार्यकारी निर्माता रुपमा छन्। यसअघि उनले फिल्म ‘अमेरिका ब्वाइज’ र ‘बिहे पास’ निर्देशन गरिसकेका छन्।
फिल्ममा कलाकारको छनोट कार्य भइरहेको निर्माण पक्षले जनाएको छ। नेपालीसहित युरोप र युकेमा रहेका कलाकारहरूलाई पनि अडिसनमार्फत छनोट गरिने टिमको योजना छ। फिल्म पोर्चुगल, युरोपका अन्य केही देश र नेपालमा छायांकन हुनेछ।
सिबर्ड्स पिक्चर्स र होप्स बजको प्रस्तुति तथा ट्राइडेन्ट कन्सेप्टको सहकार्यमा बन्न लागेको हो।