पशु प्रजनन कार्यालयद्वारा १७ हजार केजी घाँसको बीउ उत्पादन

हिमाल प्रेस २५ जेठ २०८२ १०:५५
12
SHARES
पशु प्रजनन कार्यालयद्वारा १७ हजार केजी घाँसको बीउ उत्पादन

बाँके- खजुरा गाउँपालिका-२ गौघाटस्थित राष्ट्रिय पशु प्रजनन कार्यालयले करिब १७ हजार केजी विभिन्न घाँसको बीउ उत्पादन गरेको छ। आर्थिक वर्ष २०८१/८२ मा विभिन्न जातको १६ हजार ८४५ केजी घाँसको बीउ उत्पादन भएको राष्ट्रिय पशु प्रजनन कार्यालय गौघाटका प्रमुख वरिष्ठ पशुविकास अधिकृत डा.खिमानन्द खनालले जानकारी दिए।

उनका अनुसार सबैभन्दा धेरै जै घाँसको आठ हजार ७५५, टियोसेन्टी घाँसको सात हजार ११०, भेच घाँसको पाँच सय, वर्षिम घाँसको चार सय ५० र ज्वाइन्ट भेच घाँसको ३० गरी १६ हजार ८४५ केजी घाँसको बीउ उत्पादन भएको छ। ‘उत्पादन गरेको बीउ किसानलाई पनि बिक्री वितरण गर्ने गरेका छौं,त्यसबाहेक हामी आफैँ घाँसखेतीको गर्ने गरेका छौँ’, कार्यालय प्रमुख खनालले भने,‘अहिले किसानले पनि घाँसखेती गर्न बीउ खोज्दै आउन थाल्नुभएको छ।’

यसवर्ष जै घाँस प्रतिकेजी ८०, वर्षिम दुई सय ७५, भेच एक सय २०, ज्वाइन्ट भेच ८० र टियोसेन्टी एक सय २० प्रतिकेजी बिक्री मूल्य निर्धारण भएको थियो। चालु आवको वैशाखसम्म १० हजार ७७३ केजी घाँसको बीउ बिक्री भएको राष्ट्रिय पशु प्रजनन कार्यालयका पशुसेवा प्राविधिक देवनारायण जैशीले बताए।

सबैभन्दा धेरै जै घाँसको बीउ छ हजार ८७९, टियोसेन्टी तीन हजार ९७, भेच चार सय १२, वर्षिम तीन सय ८१ र ज्वाइन्टभेच तीन दशमलव पाँच केजी बिक्री गरी आठ लाख ५९ हजार २७८ राजस्व संकलन भएको उनले जानकारी दिए।

बाँकेको सदरमुकाम नेपालगन्जबाट १५ किमी पश्चिमतर्फ रहेको खजुरा गाउँपालिका–२ गौघाटमा करिब ३४ दशमलव चार हेक्टर क्षेत्रफलमा राष्ट्रिय पशु प्रजनन कार्यालय अवस्थित छ। दुई हेक्टरमा वनजंगल, दुई हेक्टरमा कार्यालय संरचना र २५ हेक्टर जमिनमा घाँसखेती हुने जैशीको भनाइ छ।

यस कार्यालयमार्फत सुदूरपश्चिम र कर्णाली प्रदेशका ९-९ वटा र लुम्बिनी प्रदेशका छ जिल्ला गरी २४ जिल्लामा कृत्रिम गर्भाधान सेवा सञ्चालनमा सहजीकरण हुँदै आएको छ।

प्रकाशित: २५ जेठ २०८२ १०:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast