
बुटवल– नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले नेपालमा केन्द्रदेखि तलसम्म सत्ताको दोहोन गर्नेहरुको पल्टन नै तयार भएको बताएका छन्।
अर्थशास्त्री मनिकर कार्कीको ‘अर्थदृष्टि’ पुस्तकको बुटवल विमर्श कार्यक्रममा वक्ताका रुपमा बोल्दै भुसालले सत्ताको दोहन गर्नेहरु राजनीतिक कार्यकर्ताहरुको पल्टन बनेको बताएका हुन्।
‘१५ देखि २० लाख वा थोर धैरै हुनसक्छ, कार्यकर्ताहरुको हैसियत र पदअनुसार लाभ लिने काम भइरहेको छ,’ उनले भने। उनले नेपालको अर्थतन्त्र दलाल पूँजीबाद रहेकाले यसले रोजगारी र सुशासन ल्याउन नसकेको बताए।
‘रोजगारी सृजना गर्ने पूँजी राष्ट्रिय पूँजी हो, रोजगारी सृजना नगर्ने तर नाफा कमाईराख्ने दलाल पूँजी हो, यसलाई फेर्नुपर्छ,’ उनले भने।
महासचिव भुसालले नेपालको अर्थतन्त्रको माथिदेखि तलसम्मको चरित्र दलाल पूँजीको रहेकाले यसलाई फेर्न निकै कठिन रहेको बताए। उनले नेपाली अर्थतन्त्रको चरित्र नफेरेसम्म मुलुकको विकास र प्रगति नहुने बताए।
‘दलाल पूँजीवाद अर्थतन्त्र फेर्नपर्छ। तर, फेर्न सजिलो छैन, किनभने यसले संसद किन्छ, पार्टी किन्छ, नेता किन्छ, अदालत किन्छ, न्यायधिशलाई किन्छ,’ उनले भने, ‘बिहानै किन्छ, दिउँसै किन्छ, कसैलाई बाँकी राख्दैन, पुलिस प्रशासन सबै त्यसैका हुन्छन्।’
भुसालले यस्तो प्रवृत्तिसँग लड्ने पार्टीभित्र र बौद्धिक क्षेत्रले मात्रै सम्भव हुने बताए। उनले नेपालको विकास नहुनुको पछाडि बौद्धि क्षेत्रको भूमिका पनि कारक रहेको बताए। उनले बौद्धिक क्षेत्रले मात्रै आलोचनात्मक हिसाबले दल र नेताहरुलाई सुधार गर्न सक्ने बताए।
उनले बुटवललाई कर्मथलो बनाएका मनिकर कार्कीले अर्थदृष्टि पुस्तकबाट नेपालको अल्पविकासको ऐठनलाई प्रस्तुत गरेको बताए। उनले नेपाल पृथ्वीनारायण शाहको पालाको करिब सय वर्ष एकीकरण र युद्ध, राणाकालको सय वर्षबढी मोजमस्तीमा राज्यश्रोत खर्च हुँदा पनि विकास हुन नसकेको बताए। उनले बुटवललाई फेरी बौद्धिक व्यक्तिहरुको थलोका रुपमा अर्थदृष्टि पुस्तकको विमर्शले उठाउने विश्वास समेत व्यक्त गरे।
भुसालले विकासको मोडेल, इतिहासको चरणदेखि नेपाल अल्पविकासमा हुनुको ऐठनलाई पाठकहरुलाई सँगसँगै डो¥याउने काम पुस्त्कले गरेको बताए।
विमर्श कार्यक्रममा लुम्बिनी बौद्ध विश्वविद्यालयका परीक्षा नियन्त्रक इन्द्र काफ्लेले पुस्तक इतिहासलाई गहिरोसम्म अध्ययन गरी तथ्यमा आधारित रहेर लेखिएको बताए। यस्तै युवाहरुलाई सन्देश समेत दिएको र नीतिनिर्माता तथा राजनीतिज्ञहरुले उक्त पुस्तकको अध्ययन गर्न आवश्यक रहेको बताए।
लुम्बिनी वाणिज्य क्याम्पसकी प्राध्यापक विष्णु जोशीले पुस्तकले राजनीतिसँग अर्थशास्त्र जोडिन आवश्यक रहेको कुरामा जोड दिइन्। पुस्तकले नेपाल पछाडि पर्नुको कारणदेखि अर्थतन्त्रका सबै समस्याहरुको बारेमा उल्लेख गरेको बताइन्।
यस्तै पुस्तक सरल र सहज भाषामा लेखिएकाले अर्थशास्त्र अध्ययन नगरेकाले पनि सजिलैसँग बुझन् सक्ने उनले बताइन्।
यस्तै बुटवल बहुमुखी क्याम्पसका प्राध्यापक डा. सञ्जयकुमार कर्णले सुरुदेखि अन्त्यसम्म पाठकलाई आफूतर्फ तान्ने गरि पुस्तक लेखिएको बताए। पुस्तकमा सम्रग अर्थव्यवस्था र अर्थराजनीतिको बारेमा उल्लेख गरिएकाले अध्ययन गर्नु सबैका लागि फाइदाजनक हुने उनले बताए।
लेखक मनिकर कार्कीले आफूले आम नागरिकहरुको मनमा उठेका कुराहरुलाई पुस्तकमा लेखेको बताए। साथै समाजलाई दिशाबोध गराउन पुस्तक लेख्न आवश्यक ठानेर आफूले पुस्तक लेखेको उल्लेख गरे। निरन्तर रुपमा आफूले अब पुस्तक लेख्ने भएकाले पुस्तक अध्ययन गरेर आलोचनात्मक सुझाव दिनका लागि सम्पूर्ण पाठकहरुलाई अपिल समेत गरे।
पुस्तक विमर्श कार्यक्रमको सहजीकरण लेखक माधवकुमार पौडेलले गरेका थिए भने कार्यक्रममा यस क्षेत्रका प्राज्ञिक व्यक्तित्वहरुको सहभागिता रहेको थियो।