
काठमाडौँ- शहरी विकास मन्त्रालयबाट नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलको भवन निर्माणका लागि ३ करोड विनियोजन गरिएको खुलासा भएपछि सरकारी बजेटको उपयोगप्रति गम्भीर प्रश्न उठेका छन्।
नेपाल तरुण दल केन्द्रीय कार्यालयले नै सार्वजनिक गरेको पत्रमा काठमाडौँ महानगरपालिका-१३ स्थित रविभवनमा बन्ने भवन निर्माणका लागि गणेशमान सिंह स्मृति भवन निर्माण शीर्षकमा सो बजेट विनियोजन गरिएको उल्लेख छ। यस बजेटलाई बहुवर्षीय योजनाअन्तर्गत समावेश गरिएको हो।
तर, यसरी राजनीतिक दलको भ्रातृ संगठनको निजी प्रयोजनका लागि सार्वजनिक कोषको रकम प्रयोग गरिनु संविधान, नीति र सार्वजनिक वित्तीय अनुशासनको मर्मविपरीत भएको भन्दै आलोचना भएको छ।
उक्त पत्रमा नेपाल कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहलाई विशेष पहल र सहयोग गरेको भन्दै खुलेर धन्यवाद दिइएको छ।
सार्वजनिक कोषको उपयोग सार्वजनिक सेवा, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्यजस्ता क्षेत्रमा केन्द्रित हुनुपर्ने विज्ञहरूको मत छ। तर तरुण दलको भवनलाई राज्यको ढुकुटीबाट निर्माण गर्न बजेट छुट्याइनु राज्यशक्ति र दलगत पहुँचको दुरुपयोगको नमुना हो भन्ने टिप्पणी भइरहेको छ।
नेपाल तरुण दल केन्द्रीय कार्यालय
मिति २०८२/०२/२४
प्रस्तुत विषयमा काठमाडौं महानगरपालिका वडा नं. १३ स्थित रवि भवनमा नेपाल तरुण दलको भवन निर्माणार्थ गणेशमान सिंह स्मृति भवन निर्माण शीर्षकमा नेपाल सरकार शहरी विकास मन्त्रालयबाट यस आर्थिक वर्षमा बहुवर्षिय योजनाअन्तर्गत रुपैयाँ तीन करोड (रु ३,००,००,०००) विनियोजन भएको जानकारी गराउँदछौं। उक्त भवन निर्माणको लागि बजेट विनियोजन गर्न विशेष पहल गरिदिनुहुने नेपाली कांग्रेस पार्टी सभापति सम्माननीय पूर्वप्रधानमन्त्री श्रद्देय नेता आदरणीय शेरबहादुर देउवाज्यूलाई हार्दिक धन्यवाद दिन चाहन्छौं । विभागिय मन्त्रालयअन्तर्गत नेपाल सरकार उपप्रधान एवं शहरी विकास मन्त्री माननीय आदरणीय प्रकाशमान सिंहज्युप्रती भवन निर्माणार्थ बजेट समावेस गरिदिनुभएकोमा विशेष आभार प्रकट गर्दछौं । उक्त बजेट विनियोजन गर्न भूमिका खेल्नुहुने सम्पूर्णमा नेपाल तरुण दल केन्द्रीय समितिलाई हार्दिक धन्यवाद प्रकट गर्दछौं ।
जय नेपाल । जय तरुण । ।
विद्वान गुरुङ
अध्यक्ष