शिक्षामा योगदान गर्ने पालिका र प्रधानाध्यापकलाई सम्मान, शिक्षा विधेयकबारे मन्त्री र सभापतिले के बोले?

हिमाल प्रेस २४ जेठ २०८२ ७:१६
1.6k
SHARES
शिक्षामा योगदान गर्ने पालिका र प्रधानाध्यापकलाई सम्मान, शिक्षा विधेयकबारे मन्त्री र सभापतिले के बोले?

पोखरा- प्रिन्सिपल एसोसिएसन अफ नेपाल (प्यान) को दोस्रो राष्ट्रिय सम्मेलन पोखरामा सम्पन्न भएको छ। दुई दिनसम्म चलेको सम्मेलनमा शिक्षा क्षेत्रमा उल्लेखनीय योगदान दिने स्थानीय तह, विद्यालय र प्रधानाध्यापकहरूलाई सम्मान गरिएको हो। ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनलाई शिक्षा क्षेत्रमा देशभर उत्कृष्ट कार्य गरेको भन्दै ‘प्यान उत्कृष्ट महानगरपालिका पुरस्कार-२०८२’ प्रदान गरिएको छ।

शिक्षामन्त्री रघुजी पन्तबाट उक्त पुरस्कार ग्रहण गर्दै मेयर महर्जनले सामुदायिक विद्यालयहरूको गुणस्तर सुधारमा महानगर अहोरात्र लागिरहेको र आगामी दिनहरूमा पनि अझ सशक्त ढंगले अघि बढ्ने प्रतिबद्धता जनाए।  प्रा.डा.विद्यानाथ कोइरालाको नेतृत्वमा गठित समितिले तयार पारेका २५ मापदण्डका आधारमा ललितपुर महानगरपालिका उत्कृष्ट ठहरिएको हो।

त्यस्तै, कोशी प्रदेशतर्फको उत्कृष्ट नगरपालिकाको रूपमा खोटाङस्थित हलेसी तुवाचुङ नगरपालिकाले अवार्ड प्राप्त गरेको छ। शिक्षामा सुधार र विकासका लागि शिक्षामैत्री लगानी तथा कार्यक्रमहरू प्रभावकारी रूपमा कार्यान्वयन गरेबापत नगरपालिकालाई यो सम्मान प्रदान गरिएको हो। अवार्ड ग्रहण गर्दै नगर प्रमुख बिमला राईले कक्षा १२ सम्म अनिवार्य तथा नि:शुल्क शिक्षा लागू गरिएको, सामुदायिक विद्यालयमा एकरूपता सहितको परीक्षा प्रणाली विकास गरिएको र यसले शिक्षाको गुणस्तरमा सकारात्मक असर पारिरहेको बताइन्।

सम्मेलनको पहिलो दिन देशभरका सातै प्रदेशबाट छनोट गरिएका आधारभूत र माध्यमिक तहका उत्कृष्ट प्रधानाध्यापकहरूलाई नगदसहित सम्मान गरिएको थियो।  आधारभूत विद्यालयतर्फ धनकुटाका शुक्रबहादुर लिम्बु, सिरहाका ज्ञानेन्द्र ठाकुर, काभ्रेका मीना कुमारी सेढाई, स्याङ्जाका शोभा पाण्डे, प्युठानका सृजना पण्डित, जाजरकोटका ठाकुरनाथ शर्मा र बझाङका ललित बहादुर कठायत सम्मानित भए।

त्यस्तै, माध्यमिक तहमा मोरङका सन्तोष पोखरेल, सर्लाहीकी विनिता शाह, काठमाडौँका हेरम्बराज कँडेल, कास्कीका सन्तोष आचार्य, अर्घाखाँचीका शंकर अर्याल, सल्यानका भूपाल साहु र अछामका देवेन्द्र शाहलाई पुरस्कृत गरिएको हो।

पुरस्कार शिक्षामन्त्री रघुजी पन्त, प्यान अध्यक्ष सुदामप्रसाद गौतम र संसदीय शिक्षा समितिका सभापति अम्बरबहादुर थापाले संयुक्त रूपमा प्रदान गरेका थिए। सम्मेलनमा शिक्षामन्त्री पन्तले शिक्षा विधेयक अन्तिम चरणमा पुगेको जानकारी दिँदै संसद्मा प्रस्तुत गरिने तयारी भइरहेको बताए।

उनले शिक्षक महासंघसँग सहकार्य गरेर विधेयक अघि बढाइने र शिक्षाको गुणस्तर अभिवृद्धिमा सबै पक्ष गम्भीर बन्नुपर्ने धारणा राखे।  मन्त्री पन्तले प्राथमिक तहमा २१ हजार दरबन्दी बढी देखिएको भन्दै ती शिक्षकहरूलाई निम्न माध्यमिक तथा माध्यमिक तहमा समायोजन गर्ने तयारी भइरहेको बताए।

साथै, शिक्षामा प्रविधिको प्रयोग आवश्यक भएको उल्लेख गर्दै शिक्षकहरूलाई प्रविधिमैत्री र व्यावहारिक शिक्षाप्रति केन्द्रित हुन आग्रह गरे। तर, संसदीय शिक्षा समितिका सभापति अम्बरबहादुर थापाले ‘घरपायक शिक्षक भैंसी कराउँदा पनि पढाउन छोडेर जान्छन्’ भन्ने अभिव्यक्तिप्रति सम्मेलनस्थलमा सहभागी प्रधानाध्यापकहरूले आपत्ति जनाएका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast