
काठमाडौँ- क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको दोस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ। कम्पनीको रजिस्टर्ड कार्यालय सुर्खेतमा शुक्रबार दोस्रो साधारणसभा सम्पन्न भएको हो।
साधारणसभाले सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनलगायतका दस्तावेज पारित गरेको कम्पनीले जनाएको छ।
त्यस्तै आर्थिक वर्ष २०८१÷८२ का लागि बाह्य लेखापरीक्षकको रुपमा जेएन उपाध्याय एन्ड कम्पनीलाई नियुक्त गर्ने निर्णय साधारणसभाले गरेको छ।
साधारणसभाले समूह ‘ख’ अन्तर्गत सर्वसाधारण सेयरधनीहरूको तर्फबाट सञ्चालकमा ईश्वरलाल श्रेष्ठ र सुनिता महर्जनलाई निर्विरोध निर्वाचित गरेको छ।
संस्थाका अध्यक्ष ऋषिराज मोरले नवनिर्वाचित सञ्चालकहरूलाई बधाई दिँदै कम्पनीको भविष्यतर्फ केन्द्रित रणनीति तर्जुमा गर्ने र संस्थागत सुशासनमा प्रतिबद्धता व्यक्त गरे।