सप्तकोशीमा ज्यान गुमाएका राजवंशीले लिएका थिए ‘एसटीएफ’ ‘डीएम’ र गोताखोर तालिम

हिमाल प्रेस २३ जेठ २०८२ १८:१८
38
SHARES
सप्तकोशीमा ज्यान गुमाएका राजवंशीले लिएका थिए ‘एसटीएफ’ ‘डीएम’ र गोताखोर तालिम

काठमाडौँ- सप्तकोशी नदीमा उद्धार अभ्यासका क्रममा डुबेर बेपत्ता भएका सशस्त्र प्रहरीका दुई जवानमध्ये एक जनाको शव फेला परेको छ।

अभ्यासका क्रममा सप्तकोशी नदीमा बेपत्ता भएका सशस्त्र प्रहरी जवान हरदेव राजवंशीको शव फेला परेको हो।

खोजी गर्ने क्रममा शुक्रबार बिहान उनको शव घटनास्थलबाट करिब तीन किलोमिटर दक्षिणमा फेला परेको सशस्त्र प्रहरी बल नेपालका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

उद्धार अभ्यासका क्रममा राजवंशी र सशस्त्र प्रहरी जवान सुरज साउद बेपत्ता भएका थिए।

झापा घर भएका राजवंशी ‘स्पेसल टास्क फोर्स (एसटीएफ)’, ‘डिजास्टर म्यानेजमेन्ट (डीएम)’ र गोताखोर गरी तीनवटा विशेष तालिम लिएका थिए। उनी एसटीएफ प्रशिक्षकसमेत थिए।

सशस्त्र प्रहरी बलमा यस प्रकारको उच्च शारीरिक सहिष्णुता आवश्यक पर्ने कडा तालिम गर्ने थोरै जनशक्तिमध्ये राजवंशी एक रहेको सशस्त्र प्रहरी बलले जनाएको छ।

यसका साथै उनी दौडमा पनि अब्बल थिए। गत चैत १८ गते सशस्त्र प्रहरी बलको बराह वाहिनी पकलीको स्थापना दिवसको अवसरमा आयोजित प्रतियोगितामा उनले तीन विधामा पुरस्कार जितेका थिए।

उनले सशस्त्र प्रहरी बलभित्र अनुशासित कर्मचारीको छविसमेत बनाएका थिए। सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालले राजवंशीलाई कोशी प्रदेशको उत्कृष्ट अनुशासित कर्मचारीको रुपमा पुरस्कृत गरेका थिए।

राजवंशी डेढ महिनाअघि कोशी प्रदेशबाट मधेश प्रदेशमा काज सरुवा भई खटिएका थिए। प्रहरी नायब उपरीक्षकको नेतृत्वमा गएको पाँच सदस्यीय गोतोखोर टोलीमा अभ्यासका लागि उनी पनि सप्तकोशी नदी गएका थिए।

राजवंशीको शव जिल्ला अस्पताल सप्तरीमा पोस्टमार्टमपछि परिवारको जिम्मा लगाइएको छ। उनका श्रीमती र तीन वर्षीया छोरी छन्।

उनको निधनले परिवारका साथै सम्पूर्ण सशस्त्र प्रहरी शोकमा डुबेको छ। अभयासको क्रममा राजवंशीको निधनप्रति गृहमन्त्री रमेश लेखकले दुःख व्यक्त गरेका छन्।
शुक्रबार बिहान हल्चोकस्थित सशस्त्र प्रहरी बल प्रधान कार्यालय पुगेर घटनाबारे जानकारी लिँदै उनले दुःख व्यक्त गरे।

गृहमन्त्री लेखकले अभ्यासका क्रममा ज्यान गुमाएका राष्ट्रसेवकको शोकलाई शक्तिमा बदल्दै आगामी दिनमा थप सचेत र सुरक्षा अपनाउन जरुरी रहेको बताए।

त्यस्तै उनले अभ्यासकै क्रममा बेपत्ता भएका सशस्त्र प्रहरी जवान साउदको खोजीकार्यमा कुनै कसर बाँकी नराख्न आग्रह गर्दै त्यसका लागि प्रदेश सरकारसित पनि आवश्यक समन्वय गर्न निर्देशन दिए।

राजवंशी श्रीअन्तुगण ईलाम दरबन्दी भई दन्तकाली विशेष कार्य तालिम शिक्षालय सप्तरीमा कार्यरत थिए। त्यस्तै साउद १३ नम्बर गण पर्सा दरबन्दी भई छिन्नमस्ता बाहिनी मुख्यालयमा कार्यरत छन्।

सशस्त्र प्रहरी बलका अनुसार जवान साउदले पनि २०८१ सालमा गोताखोर तालिम पूरा गरेका छन्। गोताखोर तालिमका क्रममा सप्तकोशी, त्रिशुली तथा फेवातालमा पटकपटक अभ्यास गराइन्छ।

प्रकाशित: २३ जेठ २०८२ १८:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast