यात्रा संस्मरण

स्तुति : श्रीलंका!

ईश्वर पोखरेल २४ जेठ २०८२ २०:५६
32
SHARES
स्तुति : श्रीलंका! एलामा रहेको रावण फल्स र लोटस टावरमुनि लेखक।

हामी (सार्थक र म : बाबु/छोरा) २०८१ सालको फागुन ४ गते (तदनुसार १६ फेब्रुअरी, २०२५) आएका थियौँ श्रीलंका। ११ फागुन २०८१ (तदनुसार २३ फेब्रुअरी, २०२५) श्रीलंकाबाट फर्किँदै छौँ। हामी आज नेगोम्बोको ‘भिलाताप्रोबेन’ होमस्टेमा ब्युँझिएका हौँ। सात बजे हामीले नेगोम्बोबाट कोलम्बोस्थित बन्दरनायक कोलम्बो इन्टरनेसनल एयरपोर्ट पुग्नुपर्छ। हामीले एयरपोर्ट जानका लागि अब ‘पिक मी’ मा ट्याक्सी खोज्नुपर्छ।

श्रीलंका आएको दिन हामी कोलम्बोमै बस्यौँ। भोलिपल्ट बिहान हामीले निर्माणाधीन पोर्टसिटी हेर्‍यौँ र दिउँसो ३५० मिटर अग्लो ३० तले लोटस टावर चढ्यौँ। टावरको २९औँ तलासम्म जान मिल्ने रहेछ। यसमा चढ्न र हेर्न प्रतिवयस्क टिकट दस्तुर ६०००।- श्रीलंकन रुपैयाँ लाग्ने।

श्रीलंकाको खाद्य परिकारमा यहाँ उत्पादन हुने कालो खोर्सानी, अलैँची, दालचिनी, करिपत्ता, इमली आदि जातका मसला, नरिवल र समुद्री तटमा पाइने ताजा माछाको प्रभाव देखिनु स्वाभाविक हो। श्रीलंकामा नरिवल प्रशस्त उत्पादन हुँदो रहेछ। त्यसैले नरिवल यहाँ करी, सम्बोल र रोटीमा समेत प्रयोग हुने रहेछ। श्रीलंकामा ‘किङ कोकोनट’ भनेर चिनिने पहेँलो काँचो नरिवल–पानी खास्साको पेय रहेछ।

कोलम्बोमा हामीले कोतु रोटी, श्रीलंकाको मौलिक शैलीका लागि नामी परम्परागत पेटा मार्केटको खानपान र तारेको झिङेमाछा खायौँ। श्रीलंकामा रहुन्जेल हामीबीच अत्यन्त रुचिकर पेयका रूपमा रहेको ‘किङ कोकोनट’को स्वादिलो पानी हामीले यही कोलम्बोमै चाखेका हौँ।

कोतु/कोट्टु रोटी श्रीलंकाको लोकप्रिय स्ट्रिट फुड डिस रहेछ; यो परिकार तरकारी, अण्डा र विभिन्न करी वा मासुका परिकारहरूसँग काटेको रोटीलाई मिसमास गरी फ्राई गरेर बनाइने रहेछ। वास्तवमा ‘कोट्टु’ तमिल भाषाको शब्द रहेछ र यसको अर्थ रहेछ– ‘काट्नु’। सन् १९७० को दशकमा श्रीलंकाका स्ट्रिट फुड विक्रेताहरूले बाँकी रहेको गोधम्बा नामको समथर रोटीलाई काटेर बनाइएका ससाना टुक्रामा प्याज, खुर्सानी, तारेको अण्डा, मासु, अन्य हरिया तरकारी र सुगन्धित मसला मिसमास पारेर एक नयाँ परिकार तयार गरे; कालान्तरमा यही परिकार कोट्टु रोटीका रूपमा विकास भयो भनेको सुनिन्छ।

पोर्ट सिटीको किनारामा छोरासँग लेखक र मिरिसाको प्यारोट रकमा सेल्फी।

दोस्रो दिन हामी गाल पुग्दा साँझ पर्न लागेको थियो। गाल विश्व सम्पदासूचीमा सूचीकृत पोर्चुगाली शैलीका भवन र ऐतिहासिक किल्ला भएको सहर रहेछ। यहाँका ऐतिहासिक सम्पदा, किल्ला र ती किल्लामा ठोक्किन आउने सामुद्रिक छालले हामीलाई भुल्याउनु भुल्याए। यहाँ हपर्स र फेनीजस्ता ब्रेकफास्टका श्रीलंकाका मौलिक परिकार खान पायौँ र ब्रेकफास्टको श्रीलंकन शैलीसँग परिचित हुन पायौँ।

हपर्स चामलको पिठो र नरिवलको दूधबाट बनाइने रोटीको एक परिकार रहेछ। सामान्यतया हपर्सको ब्यास १० सेन्टिमिटर हुने रहेछ। यसलाई कचौरा आकारको प्यानमा पकाइने रहेछ। प्यानकै आकारमा हपर्सको आकार निर्माण हुने भएकाले यसको किनारा पातलो र केन्द्र केही बाक्लो हुनु स्वाभाविक नै भयो।

श्रीलंकामा हपरहरू ब्रेकफास्ट र डिनरका रूपमा सम्बोल वा करीसँग खाने गरिँदो रहेछ। हपर्स सादा त हुने नै भए; अण्डा हपर्स पनि हुने रहेछन्। अण्डा हपर्स बनाउन चै पहिले अण्डालाई प्यानमा छोपेर बाफमा पकाइँदो रहेछ।

श्रीलंका पुगेको तेस्रो दिन हामी गालबाट मिरिसा गयौँ। मिरिसा सामुद्रिक बिचका लागि प्रख्यात स्थल रहेछ। श्रीलंकामा ह्वेल हेर्न लोभिएर पनि पर्यटकहरू मिरिसा पुग्ने रहेछन्। सामुद्रिक कछुवाहरू यदाकदा मिरिसामा समुद्रकै किनारमा पनि आउने रहेछन्। यो सूर्यास्तको दृश्यावलोकनका लागि पनि नामी स्थल रहेछ। विशेषत: यहाँको ‘प्यारोट रक’ र ‘कोकोनट ट्री हिल’ सूर्यास्तको दृश्यावलोकनका लागि लोकप्रिय स्थल रहेछन्।

कोट्टु रोटी र झिँगे माछा।

चौथो दिन हामी एला गयौँ। एला गल्छी परेको बजार रहेछ। यो ‘नाइन आर्च ब्रिज’, ‘लिटिल आदम पिक’, ‘रावण फल्स’ र ‘रावण केभ’का लागि प्रख्यात स्थल रहेछ। नाइन आर्च ब्रिज ९१ मिटर लामो र ७.६ मिटर चौडा पुल हो। यस ट्रेन पुलको निर्माण सन् १९१९ मा सम्पन्न भएको रहेछ। यो स्टिलको प्रयोग नगरीकन ढुंगा, इँट्टा र सिमेन्ट मात्रको प्रयोग गरी निर्माण गरिएको २४ मिटर उचाइ भएको ट्रेनका लागि निर्मित चालु पुल रहेछ।

‘लिटिल आदम पिक’ चाहिँ एला बजारबाट ‘फ्ल्याइङ रावण’ हुँदै ठाडो उकालो चढेपछि पुगिने थुम्को रहेछ। यहाँ पर्यटकहरू सूर्यास्तको दृश्य हेर्न पनि पर्खिबस्दा रहेछन्। यो पिक पहाड र चियाबारीको दृश्यावलोकनका लागि पनि लोकप्रिय रहेछ। ‘रावण फल्स’ खुला झरना हो। ‘रावण केभ’मा जान भने प्रति वयस्क ३००।- श्रीलंकन रुपैयाँ दस्तुर तिर्नुपर्छ।

पाँचौँ दिन हामी क्यान्डीका लागि प्रस्थान गर्‍यौँ। चियाबारीको बीचैबीच दौडिने पर्वतीय रेलको यो यात्रा एक रमाइलो र रोमाञ्चक यात्रा रहेछ। यो रेल यात्रा प्राकृतिक दृश्यावलोकनका लागि र गतिवान् रेलको झ्यालमा झुन्डिएर तस्बिर खिच्ने र फरक अनुभूति प्राप्त गर्ने दृष्टिकोणबाट नामी रहेछ।

श्रीलंकाको पुरानो राजधानी क्यान्डी एक रमणीय उपत्यका हो। यो विश्व सम्पदासूचीमा सूचीकृत उपत्यका हो। राजाका दरबारहरू, क्यान्डी ताल, बुद्धको दाँत रहेको मन्दिर, महाबोधी विहार आदिले क्यान्डी सरलाई मनमोहक तुल्याएका छन्। यहाँ बुद्धको दाँत रहेको मन्दिरमा प्रवेश गर्न प्रतिवयस्क १५००।- र महाबोधी विहार प्रवेश गर्न प्रतिवयस्क ३००।- श्रीलंकन रुपैयाँ टिकट लाग्ने रहेछ।

सिगिरिया लायन रक र प्राकृतिक दृश्यावलोकनका लागि प्रख्यात स्थल हो। लायन रक विश्वसम्पदा सूचीमा सूचीकृत सम्पदा हो। लायन रक जमिन सतहबाट २०० मिटर जति उचो पत्थरमा बनेको संरचना हो। यसमा प्रवेश गर्न टिकट काट्नुपर्छ। सार्कका सदस्य राष्ट्रका नागरिकलाई सहुलियतमा टिकट दस्तुर प्रतिवयस्क २० डलर लाग्ने रहेछ।

सिगिरियाबाट हामी हिजो दिउँसो नेगाम्बो आइपुगेका हौँ।

लोकतान्त्रिक समाजवादी गणतन्त्र श्रीलंका दक्षिण एसियाली सहयोग संगठन (सार्क) को एक संस्थापक सदस्य राष्ट्र हो। यहाँ द्विसदनात्मक संसदीय शासन प्रणाली छ। यो टापु राष्ट्र हो र हिन्दमहासागरमा अवस्थित छ। यसको पुरानो नाम ‘सिलोन’ हो। हामी नेपालीको हकमा श्रीलंकाको स्वतन्त्र पर्यटकीय भ्रमणका लागि अंग्रेजी भाषामा सामान्य पकड हुनु र इन्टरनेटको सञ्चालनमा सामान्य जानकार हुनु अनिवार्य सर्त रहेछ।

विविध कालखण्डमा पोर्चुगल, नेदरल्यान्ड र बेलायतको उपनिवेशका रूपमा रहेको श्रीलंका सन् १९४८ मा स्वतन्त्र भएको हो। सन् १९७२ मा यसको नाम श्रीलंका रह्यो। श्रीलंकाको कोलम्बोस्थित बन्दरनायक कोलम्बो इन्टरनेसन एयरपोर्ट नेपालको राजधानी काठमाडौँको त्रिभुवन इन्टरनेसन एयरपोर्टबाट २३२० किलोमिटर दुरीमा छ।

श्रीलंका तीस वर्षसम्म गृहयुद्धको मारमा परेको राष्ट्र हो। यहाँ सन् २००९ मा गृहयुद्ध समाप्त भएको हो।

पेटामार्केटको परम्परागत खानाका परिकार तथा हपर्स र फेनीसहित श्रीलंकाको ब्रेकफास्टको ढाँचा।

सन् २०२१ को मानवविकास प्रतिवेदनअनुसार मानव विकास सूचकांकमा श्रीलंका ७३ औँ स्थानमा रहेको छ। यो मानव विकासका दृष्टिले दक्षिण एसियाली राष्ट्रहरूमा सबैभन्दा उच्च स्थानमा रहेको राष्ट्र हो र दक्षिण एसियामा दोस्रो उच्च प्रतिव्यक्ति आय भएको देश हो। तर वर्तमान आर्थिक संकटले यसको मुद्राको अवमूल्यन, बढ्दो मुद्रास्फिति र अत्यावश्यक वस्तुको चर्को अभावका कारण श्रीलंकामा मानवीय संकट उत्पन्न भएको छ।

सूर्यास्तको दृश्यावलोकनका लागि विश्वका पर्यटकहरूका बिच श्रीलंका माथिल्लो श्रेणीमा पर्ने नाम हो। समुद्रमा अस्ताउँदै गरेको रातो सूर्य हेर्न घन्टौँ प्रतीक्षामा रहेका पर्यटकहरू बादलले अकस्मात् सूर्यलाई ढाकिदिँदा हस्स पर्नु पनि श्रीलंकामा स्वाभाविकजस्तै रहेछ।

हामी पुगेका सबै मन्दिर सबै किसिमका पर्यटकका लागि खुला थिए। तर श्रीलंकाका मन्दिरहरूमा प्रवेश गर्न शुल्क तिर्नुपर्ने। हामी मन्दिरमा फूलपाती र दक्षिणा चढाउने देशका नागरिक। हाम्रा कतिपय मन्दिरका हामीले चढाएका दक्षिणा कसरी आम्दानी बाँधिन्छ र त्यसको परिचालन कसरी हुन्छ भन्ने बारेमा स्पष्ट नियम बनेको छ र ती रकम पारदर्शी किसिमले सदुपयोग हुन्छ भन्ने बारेमा हामीलाई जानकारी छैन। अझ त्यस्तो रकम राज्य कोषमा जम्मा हुन पुग्छ भन्ने बारेमा सोच्नु त झन् परको कुरा भयो।

श्रीलंकामा भने मन्दिर प्रवेश गर्ने पर्यटकहरूबाट सरकारले निश्चित दस्तुर लिने रहेछ। यसरी श्रीलंकामा मन्दिर जस्ता धार्मिक स्थल पनि राज्यको आय आर्जनको स्रोतका रूपमा रहेछ।
मन्दिरैमन्दिरको देश नेपाल। हामीले पनि श्रीलंकाकै जस्तो मन्दिरमा प्रवेश गर्ने पर्यटकबाट एक निश्चित प्रवेश शुल्क लिने प्रावधान लागू गर्न सक्दा हाम्रो धार्मिक पर्यटनले कस्तो स्वरूप ग्रहण गर्दो हो!

श्रीलंकाको परम्परागत खाना स्याम्बलसहितका परिकार र गालको हंग्री रेस्टुरेन्टमा काठका वर्तनमा परिकार।

हामी पर्यटन प्रवर्धनका नाउँमा स्तरीय होटल थप्नेतिर धेरै ध्यान दिइरहेका छौँ। दिगो पर्यटनको पूर्वाधार निर्माणमा भने हाम्रो खासै ध्यान गएको छैन। कतिपय पर्यटकीय स्थलमा सडक पुगेको छैन; सडक छ भने सडकको अवस्था राम्रो छैन। सडकको अवस्था ठिकै छ भने चालकहरू प्रतिस्पर्धा गरेर तीव्र गतिमा गाडी चलाउँछन्। सडक यातायात सुरक्षित छैन। पर्यटकलाई ‘यहाँकै’ भनेर दिन मिल्ने परिकार र देखाउन मिल्ने संस्कृतिको संरक्षणमा हाम्रो ध्यान गएको छैन। पर्यटकहरू हाम्रा कठिनाइहरूसँग सम्झौता गरेर समय बिताउन होइन; महँगो रकम तिरेर रमाउनका लागि हामीकहाँ आउँछन् भन्ने श्रीलंकाले बुझेको भान पर्छ। दिगो पर्यटन उद्योगका सन्दर्भमा नेपाल जस्ता देशले श्रीलंकालाई पछ्याउनु उचित हुन्छ।

श्रीलंकन भाषामा ‘स्तुति’को अर्थ ‘धन्यवाद’ रहेछ। हामीले पर्यटकका रूपमा एक साता अत्यन्त रमाइलाका साथ श्रीलंकामा बितायौँ। बिहार र उत्तरप्रदेशका कतिपय सहरको पर्यटकीय अनुभवलाई आधार बनाएर हेर्दा श्रीलंकनहरू पर्यटकप्रति हंसमुख छन्; सहयोगी छन् र सरल छन्। श्रीलंका आएर हामीले फरक स्तरको रमाइलो अनुभव गर्‍यौँ; यहाँका परम्परागत परिकारहरूमा रमायौँ; यहाँका प्राकृतिक र साँस्कृतिक दृश्यावलीबाट हामी मुग्ध भयौँ। यी दिनमा हामीले कुनै प्रकारका बाधाअड्चनहरूको सामना गर्नु परेन। यो अविस्मरणीय पर्यटकीय अनुभव र रमाइलाका लागि हामी (सार्थक र म : दुवै) ले श्रीलंकालाई ‘धन्यवाद’ नभन्नु त!

स्तुति : श्रीलंका!

(समाजशास्त्री पोखरेल नियात्रा, गजल, लघुकथा जस्ता विधामा कलम चलाउँछन्।)

प्रकाशित: २४ जेठ २०८२ २०:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast