
बुटवल- सरकारले राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ। तर नागरिकले भने राष्ट्रिय परिचयपत्र बनाउन निकै सास्ती पाएका छन्। गृह मन्त्रालयले राष्ट्रिय परिचयपत्रका लागि घन्टौँ पर्खन नपर्ने गरी सेवा दिने बताए पनि इलाका प्रशासन कार्यालय बुटवलमा भने बिहान ५ बजेदेखि लाममा बसेर सेवा लिन बाध्य छन्।
इलाका प्रशासन कार्यालय बुटवलले नागरिकलाई सास्ती नहोस् भनेर टोकन प्रणाली लागू गरको छ। अवस्था भने सहज बन्न सकेको छैन। बिहानदेखि लाममा बसेकाहरूले समेत टोकन नपाएपछि तीन दिनसम्म धाउनुपरेको गुनासो गरेका छन्। रूपन्देही तिलोत्तमा नगरपालिका-२ शंकरनगरका मदन पराजुलीले लगातार दुई दिन बिहानदेखि लाममा बस्दा पनि राष्ट्रिय परिचयपत्र बनाउन नपाएको गुनासो गरे।
‘बैंकमा खाता खोल्न पर्ने भएपछि हिजो र आज लाइनमा बसेँ’, इलाका प्रशासन कार्यालय बुटवलमा भेटिएका पराजुलीले भने, ‘शुक्रबार १२० जनाले मात्रै टोकन पाउने रहेछन्, आज पनि पालो पाइएन।’
बिहान साढे ९ बजेपछि मात्रै प्रशासनले टोकन वितरण गर्ने गरेको छ। तर टोकनका लागि सेवाग्राही बिहान ५ बजेदेखि लाममा बस्छन्। घन्टौँसम्म पर्खेर पनि राष्ट्रिय परिचयपत्र बनाउन नपाउने धेरै छन्। रूपन्देही सैनामैना-४ मुर्गियाकी अस्मिता खत्री लगातार दिनसम्म धाएपछि बल्ल टोकन पाएको बताइन्।
‘पहिलो दिन १० बजे आए, टोकन सकिएछ, दोस्रो दिन र तेस्रो दिन लगातार बिहान ६ बजे आएपछि टोकन पाइयो’, परिचयपत्रको फाराम हात लिएर बसेकी उनले भनिन्। उनले राष्ट्रिय परिचयपत्र बिना कुनै पनि काम नहुने भएकाले लगातार धाएर परिचयपत्र बनाएको बताइन्।
सैनामैनाकै धनमाया खत्री पनि बिहान ५ बजे लाइनमा बसेर परिचयपत्र बनाउने टोकन लिन सफल भएको बताइन्। ‘परिचयपत्र बनाउन यति गाह्रो रहेछ’, उनले भनिन्। बिहान लाइनमा बस्नेहरूले बाहेक कार्यालय समयमा आउने नागरिकहरूले सेवा लिनै पाउँदैनन्। ‘बिहानै लाइनमा बस्नुपर्ने रहेछ, मलाई थाहा भएन’, बुटवल १४ पदमपुरका प्रकाश बीसीले भने, ‘अब आइतबार सोमबार आउनू भन्नुभयो, फर्किए।’ विशेषगरी बैंकमा खाता खोल्ने, राहदानी बनाउनेहरूले चाँडो काम नहुँदा समस्या भोग्ने गरेका छन्।

इलाका प्रशासन कार्यालय बुटवलमा अत्यधिक भीड भएपछि प्रशासनले थेग्न मुस्किल परेको बताएको छ। जिल्ला प्रशासन कार्यालय भैरहवामा भन्दा पनि बुटवलमा सेवाग्राहीको भीड थेग्न नसकेको सूचना अधिकारी तथा शाखा अधिकृत विष्णुप्रसाद ज्ञवालीले बताए। उनले शुक्रबार एक सय २० र अन्य बार दैनिक दुई सयजनालाई सेवा दिने गरिएको बताए।
‘सबै सेवाग्राहीले सेवा पाउन सक्नुभएको छैन’, उनले भने, ‘यसबारे विभागलाई जानकारी गराएर स्टेसन थप्ने योजनामा छौँ।’ उनका अनुसार चार महिनाअघि दुई वटा स्टेसनबाट सेवा दिएकोमा सेवाग्राहीको भीड थेग्न नसकेपछि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागसँग समन्वय गरेर चारवटा स्टेसनबाट सेवा दिइएको छ।
चारवटा स्टेसनबाट पनि भीड थेग्न नसकेकाले अब सोमबार वा मंगलबारदेखि बुटवल उपमहानगरपालिकाभित्र एउटा स्टेसन थपेर सेवा दिने तयारीमा रहेको सूचना अधिकारी ज्ञवालीले बताए। ‘एकैचोटि ठूलो संख्यामा सेवाग्राही आउँदा राष्ट्रिय परिचयपत्र बनाउनेहरूले दुःख पाउनुभएको छ’, उनले भने –‘अब दुई/तीन दिनभित्रमा अर्को स्टेसन थपेर सहज बनाउने प्रयत्नमा छौँ।’
स्थानीय सरकारले वडावडामा समेत परिचपयपत्रका लागि घुम्ती शिविर सञ्चालन गरे पनि बुटवलमा अत्यधिक भीड हुँदा समस्या परेको हो। प्राविधिक रूपमा एकजना व्यक्तिका लागि पाँचदेखि सात मिनेट लाग्ने भएकाले पनि दिनमा दुई सयभन्दा बढीको परिचयपत्र बनाउनै नसकिने ज्ञवालीको भनाइ छ।
प्रशासनले दैनिक एक सय ८० जनालाई टोकन र १५ देखि २० जना जेष्ठ नागरिक, अपांगता भएका र बिरामीहरूलाई लाइनमा नबसी सेवा दिने गरेको छ। इलाका प्रशासन कार्यालय बुटवल कार्यालयले जिल्लामै सबैभन्दा बढी राष्ट्रिय परिचयपत्रको सेवा दिएको छ। बुटवलमा जिल्लाबाहिर पाल्पा, कपिबलस्तु, गुल्मी, अर्घाखाँची, प्युठान, बागलुङसम्मका सेवाग्राही आउने गरेकाले सेवाग्राहीको संख्या चार महिनादेखि स्थिर रहेको प्रशासनले जनाएको छ।
माघदेखि जेठ २२ गतेसम्म १४ हजार पाँच हजार ७८ जनाले इलाका प्रशासन कार्यालय बुटवलबाट राष्ट्रिय परिचयपत्र बनाएका छन्। यस्तै चालु आर्थिक वर्षको जेठ २२ गतेसम्म २७ हजार १७ जनाले राष्ट्रिय परिचयपत्र बनाएको तथ्यांक छ।