
काठमाडौँ- नेपाली कांग्रेसको भातृसंस्था नेपाल तरुण दलको केन्द्रीय तदर्थ समिति विघटनको माग गर्दै तरुण दलमा आवद्ध युवाहरूले काठमाडौँमा प्रदर्शन गरेका छन्।
तदर्थ समितिको वैधानिकता सकिएको र यो समितिले महाधिवेशन गर्न नमिल्ने भन्दै उनीहरूले तरुण दल विघटनको माग गर्दै काठमाडौँमा मोटरसाइकल र्याली निकालेर प्रदर्शन गरेका हुन्।
काठमाडौँको विभिन्न स्थानबाट निकालिएको मोटरसाइकल र्याली सानेपास्थित कांग्रेस पार्टी कार्यालय पुगेको थियो।
तरुण दलका केन्द्रीय सदस्य रोजन राईले तदर्थ समिति बनेको तीन वर्ष भए पनि अध्यक्षले महाधिवेशन गर्ने कुनै क्रियाकलाप नगरेको बताए। तरुण दललाई प्रालिको रुपमा अगाडि बढाउन थालेपछि आफूहरूले सांकेतिक प्रदर्शन गरेको उनले बताए।
२०८१ चैतबाट तदर्थ समितिलाई पार्टीले दिएको समयसीमा सकिएको भन्दै अब यसलाई अगाडि बढाउन नसकिने उनले बताए। महाधिवेशन गर्नबारे अध्यक्षले केन्द्रीय समितिमा कहिल्यै कुनै छलफल नगरेको आरोप लगाउँदै उनले वर्तमान समितिको औचित्य सकिएको र अधिवेशन हुन नसक्ने जिकिर गरे।
नेपाल तरुण दल विगत ९ वर्षदेखि तदर्थ समितिको भरमा चलिरहेको छ। २०७३ सालमा पोखरामा भएको महाधिवेशनपछि तरुण दलको महाधिवेशन भएको छैन।