
काठमाडौँ– नेपाल पर्यटन बोर्डले ‘गर्मी से बेहाल चलो नेपाल’ भन्ने सन्देशयुक्त नारा उष्णप्रदेशीय भूभागका भारतीयलाई नेपाल जान प्रेरित गर्दै भारतीय सञ्चारमाध्यममा बजाउने गरेको छ। निश्चय नै गर्मीमा बस्ने मानिस चिसो ठाउँमा जान रुचाउँछन् भने ठण्डी क्षेत्रमा बस्नेहरु उष्ण स्थान रुचाउँछन्। भारतीय पर्यटक आएको कुराले प्रत्यक्षमा पर्यटनकर्मी र अर्थतन्त्र आकर्षित हुन्छ। अहिले भारतको मालाबारबाट नेपाल आएको एउटा चराका कारण पन्छीविद् तथा संरक्षणकर्मीहरू हौसिएका छन्।
गत जेठ १६ गते लुम्विनी प्रदेशको रूपन्देही जिल्लाको बुटवलमा रहेको गोलपार्कको लुम्बिनी केबलकार स्टेसन क्षेत्रमा सर्वेक्षण गरिरहेका संरक्षणकर्मी देउबहादुर राना र अमृत नेपालीले एउटा चरा देखे।
नेपाल पन्छी संरक्षण संघमा आबद्ध उनीहरू निर्माणाधीन बुटवल-दाङ प्रसारण लाइनले चराको वासस्थानमा कस्तो असर पर्ला भनेर सर्वेक्षण गरिरहेका थिए। त्यही बेला उनीहरूले सो चरा देखेका हुन्। उनीहरूलाई लाग्यो त्यो चरा सो क्षेत्रमा पाइने कल्चौँडे होला। बिना दूरबिन हिँडेका उनीहरूले सो चराको फोटो भने खिचे।
जब फोटो जुम गरेर हेरे तब उनीहरूले थाहा पाए, त्यो त कल्चौँडे (ब्लु ह्विसलिङ थ्रस -Blue Whistling Thrush (Myophonus caeruleus) होइन रहेछ। चराको निधारमा रहेको ‘भी’ आकारको चम्किलो नीलो टाटो, काँधमा भएको नीलो रङको बाहुल्य र कालो चुच्चोले यो चरा अर्कै प्रजातिको रहेको अनुमान गरे उनीहरूले। यो चराको टाउको र काँधमा हुने चम्किलो नीलो टाटोलाई निश्चित कोणबाट मात्र देख्न सकिन्छ, सबैतिरबाट हेर्दा देखिँदैन किनभने यो ‘अल्ट्राभायोटेल’ प्रकाशका कारण मात्र देखिन्छ।
ढुंगे नदी किनारका घना जंगलमा बस्ने यो चराले किरा, गंगटा, भ्यागुता तथा फलफूल खान्छ।
राना र नेपालीले खिचेको चराको फोटो र भिडियो प्रजाति यकिन गर्न बर्डलाइफ इन्टरन्यासनल र बम्बे न्याचुरल हिस्ट्री म्युजियममा पठाए। त्यहाँका चराविज्ञहरूले चराको तुलनात्मक अध्ययन गर्दा चरा ‘मालाबार ह्विसलिङ थ्रस’ (Malabar Whistling-thrush (Myophonushorsfieldii) भएको यकिन भयो।
यो प्रजाति यसभन्दा अघि नेपाल आएको अभिलेख भएको थिएन। पहिलो पटक नेपालमा यसको अभिलेख भएको छ। यो चरा भारतको पश्चिमी घाट क्षेत्र र मध्य भारतमा मात्र पाइन्छ।
‘यो चरा नेपालमा घुम्दै फिर्दै आएको हुन सक्छ वा यहाँ आउने नै गरेको थियो कि के हो भन्ने विषयमा थप अनुसन्धान भएपछि मात्रै भन्न सकिन्छ’, राना भन्छन्।
यो चराले मान्छेले जस्तै सुसेल्न सक्ने भएकोले पन्छीविद्हरूले यसलाई ‘ह्विसलिङ स्कुलबोई’ (सुसेली हाल्ने स्कुले केटो) उपनाम दिएका छन्। २५ देखि ३० सेन्टिमिटरको लम्बाइ हुने यसको तौल १०० देखि १३० ग्रामको हुन्छ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागद्वारा दुई वर्षअघि प्रकाशित पन्छी सूचीअनुसार नेपालमा ८९२ प्रजातिका चरा पाइन्छ। सो सूची प्रकाशित भएयता आठवटा नयाँ चरा प्रजातिको अभिलेखीकरण भइसकेको छ। ‘मालाबार ह्विसलिङ थ्रस नेपालको ९०१ औँ प्रजाति हुन पुगेको छ’, रानाले भने, ‘नयाँ प्रजाति भेट्न सकेकोमा खुसी लागेको छ।’
नेपालमा पछिल्लो समयमा वर्षैपिच्छेजस्तो एकदुई नयाँ प्रजातिका चरा देखिनुले नेपालको संरक्षण राम्रो हुँदै गएको र नेपालको जैविक विविधतालाई पुष्टि गर्दै लगेको तर्क राख्छन्, नेपाल पन्छीविद् संघका कार्यकारी अधिकृत अध्यक्ष लक्षमण पौडेल।
‘पछिल्लो समय नेपालमा चराको क्षेत्रमा सोख तथा पेसागत हिसाबमा लागेन व्यक्तिहरुको संख्या बढ्दै जाँदा धेरै चरा देखिन थालेका छन्’, पौडेल भन्छन्, ‘यसरी नयाँ प्रजाति बढ्दै जानु निश्चय नै खुसीको कुरा हो।’