१० महिनामा २१ गर्भवती र सुत्केरीको हवाई उद्धार

हिमाल प्रेस २३ जेठ २०८२ १३:४४
12
SHARES
१० महिनामा २१ गर्भवती र सुत्केरीको हवाई उद्धार फाइल तस्बिर

ओखलढुंगा- ओखलढुंगाबाट चालु आर्थिक वर्षको १० महिनामा २१ गर्भवती र सुत्केरीको उद्धार गरिएको छ। ‘राष्ट्रपति महिला उत्थान कार्यक्रम’ मार्फत २१ जना गर्भवती र सुत्केरीको हेलिकप्टरमार्फत उद्धार गरिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत अनुप पौडेलले बताए।

उद्धार गरिएका सबै गर्भवती र सुत्केरीलाई काठमाडौँका विभिन्न अस्पतालमा पठाइएको उनले जानकारी दिए। उच्च जोखिममा परेका गर्भवती, सुत्केरी र शिशुको ज्यान बचाउन उद्धार कार्यक्रम प्रभावकारी बनेको पौडेलको भनाइ छ।

‘सुविधा सम्पन्न अस्पतालमा उपचार नगरिए ज्यानै जानसक्ने सम्भावना भएका गर्भवती र सुत्केरीलाई स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष, महिला स्वास्थ्य स्वयंसेविकालगायत स्वास्थ्य संस्थाका कर्मचारीको सिफारिस र खबरका आधारमा मन्त्रालय र गृह मन्त्रालयको समन्वयमा तत्काल हवाई उद्धार भइरहेको छ’, उनले भने।

राष्ट्रपति महिला उत्थान कार्यक्रमले दुर्गम क्षेत्रका महिलाले नवजीवन पाएको जिल्लास्तरीय आमा समुह सञ्जालका अध्यक्ष कान्ती राजभण्डारीले बताइन्। ‘पहिले दुर्गम क्षेत्रका महिलाले अकालमा ज्यान गुमाउनुपर्ने बाध्यता थियो। हाल हवाई उद्धार सेवा पाएपछि आमा र शिशुको ज्यान बचेको छ’, उनले भनिन्, ‘यो कार्यक्रम निकै प्रभावकारी छ। आगामी दिनमा स्वास्थ्यका क्षेत्रमा योजना बनाउँदा सरकारले दुर्गमका नागरिकलाई केन्द्रमा राख्यो भने राम्रो हुन्छ भन्ने सन्देश पनि यसले दिएको छ।’

विगतमा महँगोमा हेलिकप्टर चार्टर गरेर काठमाडौँ लैजान सक्नेहरूले उपचार पाउने र नसक्नेहरूले उपचार अभावमा अकालमा ज्यान गुमाउनुपर्ने बाध्यता रहेको थियो।

प्रकाशित: २३ जेठ २०८२ १३:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast