
काठमाडौँ- राजधानीको गहना व्यवसायमा विगत दुई दशकदेखि सक्रिय कन्काई सुनचाँदी गहना एण्ड ज्वेलरी सप प्रा.लि. ले आफ्नो नयाँ शाखा डिल्लीबजार, पिपलबोटमा विस्तार गरेको छ। शाखा उद्घाटन विशेष समारोहका बीच सोमबार सम्पन्न भएको हो।
उद्घाटन समारोहमा कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री तथा संघीय सांसद महेन्द्रबहादुर शाहीले दीप प्रज्वलन गरी शाखाको औपचारिक उद्घाटन गरे। नेपाल सुनचाँदी, रत्न तथा आभूषण महासंघका अध्यक्ष किसान सुनारले शाखाको शुभारम्भ गरे।
कार्यक्रममा विशिष्ट अतिथिका रूपमा कलाकार उल्सन विक्रम राई, गायक यशकुमार, विमल अधिकारीलगायत सांस्कृतिक क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। साथै, महासंघका पदाधिकारीहरूले सफल व्यापारको शुभकामना व्यक्त गरे।
नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्चका संस्थापक अध्यक्ष तथा नेपाल सुनचाँदी तथा रत्न आभूषण महासंघका केन्द्रीय कोषाध्यक्ष समेत रहेका कन्काई ज्वेलर्सका सञ्चालक गणेशप्रसाद लकान्द्रीले उद्घाटन समारोहमा बोल्दै विगत २२ वर्षदेखि कम्पनीले नेपाली उपभोक्ताको विश्वास जित्दै गुणस्तरीय गहना सेवा प्रदान गर्दै आएको बताए।
उनका अनुसार नयाँ शाखामार्फत आधुनिक सेवा प्रणाली, नवीनतम डिजाइन र विशेष रूपमा हिरा गहनाको सुविधा प्रदान गरिनेछ। गहनाको व्यापक प्रदर्शनीसहित सांस्कृतिक प्रस्तुति र स्वागत कार्यक्रमले उद्घाटन समारोहलाई भव्य बनाएको थियो। सहभागीहरूले प्रदर्शनीमा राखिएका आकर्षक र नवीन गहनाको प्रशंसा गरेका थिए।
‘गुणस्तर, विश्वास र परम्पराको संगम’ भन्ने नाराका साथ अगाडि बढिरहेको कन्काई ज्वेलर्सले आगामी दिनमा प्रविधिमैत्री सेवा, नवीन डिजाइन र ग्राहक सन्तुष्टिलाई पहिलो प्राथमिकता दिने प्रतिबद्धता दोहोर्याएको छ।
त्यसै क्रममा, सञ्चालक लकान्द्रीले भर्खरै प्रस्तुत भएको आर्थिक वर्ष २०८२/८३ को बजेटप्रति असन्तुष्टि व्यक्त गरे। उनले भने, ‘हिराका गहनामा १३ प्रतिशत भ्याट र सुनमा लगाइएको लक्जरी करले साना तथा मझौला व्यवसायी संकटमा पर्न सक्छन्। उपभोक्तामाथि पनि यसको प्रत्यक्ष असर पर्छ,जसले गर्दा व्यवसायीहरू पलायन हुने खतरा छ। अहिले अधिकांश सुनचाँदी व्यवसायी आन्दोलित छन्।’