
काठमाडौँ- बेल्जियमका प्याट्रिक डे विल्डे नेपाली राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षकमा नियुक्त भएका छन्। अखिल नेपाल फुटबल संघ एन्फाका महासचिव किरण राई र विल्डेले बिहीबार सम्झौता पत्रमा हस्ताक्षर गरे।
विल्डे नेपाली महिला राष्ट्रिय टोली सम्हाल्ने दोस्रो विदेशी प्रशिक्षक हुन्। यसअघि अस्ट्रेलियाका ग्यारी फिलिप्सले नेपालको प्रशिक्षण सम्हालेका थिए। एन्फा प्रशिक्षक छनोट समितिले सर्टलिस्टमा रहेका दुई जनाबाट उनको नाम सिफारिस गरेको हो।
विल्डेले पछिल्लो पटक नेपाल सुपर लिग (एनएसएल) मा काठमाडौं रेजर्सको प्रशिक्षण सम्हालेका थिए। उनले सोमालिया र रुवान्डाको राष्ट्रिय टोली, चीनको यू २३ टोली तथा अल्जेरिया र हंगेरीको सहायक प्रशिक्षकका रूपमा काम गरिसकेका छन्।
नेपाल एएफसी एसिया कप छनोटको तयारीमा छ। छनोटको समूह ‘एफ’ मा नेपाल, लाओस, उज्वेकिस्तान र श्रीलंका छन्। यो समूहको खेल उज्वेकिस्तानमा हुनेछ। नेपालले जुन २९ मा लाओससँग खेल्दै छनोटको सुरुवात गर्नेछ।
नेपालले जुलाई २ मा श्रीलंका र ५ मा घरेलु टोली उज्वेकिस्तानको सामना गर्नेछ। समूहको शीर्ष स्थानमा रहने टोलीले अस्ट्रेलियामा हुने एसिया कप खेल्न पाउनेछ।