डाडागाउँमा ‘एक घर, एक धारा’

हिमाल प्रेस २३ जेठ २०८२ ६:५३
4
SHARES
डाडागाउँमा ‘एक घर, एक धारा’

म्याग्दी- मालिका गाउँपालिका–३ मा रु एक करोड १० लाखको लागतमा निर्माण भएको डाडागाउँ बोक्रे खानेपानी, सरसफाइ तथा स्वच्छता आयोजनाबाट दुई सय २५ घरपरिवार लाभान्वित भएका छन्।

मालिकाको २४ लाख ८५ हजार ५९६ रुपैयाँ र नेपाल स्वास्थ्यको लागि पानी संस्था (नेवा)को ५६ लाख एक हजार ३६६ रुपैयाँ अनुदान तथा उपभोक्ताको २९ लाख १३ हजार १२४ रुपैयाँको लागतमा योजना निर्माण भएको हो।

वडाध्यक्ष मोतिप्रसाद बुढाले सर्वसाधारणका घरमा दुई सय २५, विद्यालयमा चार र सामुदायिक स्वास्थ्य एकाइमा एक निजी धारा जडान गरेर खानेपानी वितरण गरिएको जानकारी दिए।

उनका अनुसार डाडागाउँ, किटेनी, औल, सराग्दी र स्यागलुङ टोलका दुई हजार १९ जनसंख्या लाभान्वित भएका छन्। यसअघि सार्वजनिक धाराबाट खानेपानी उपभोग गर्दै आएका थिए।

घरघरमा धारा बनेपछि समयको बचत, झन्झट हट्नुका साथै घरायसी कामकाज सहज भएको उपभोक्ताले बताएका छन्। खानेपानी योजना निर्माणका लागि उपभोक्ताले प्रतिपरिवार ६० दिनका दरले श्रमदान गरेका थिए।

पानीको मितव्ययी प्रयोगका लागि मिटर जडान गरिनुका साथै धारा वरपरको वातावरणलाई स्वच्छ बनाउन भाडा सुकाउने पक्की चाङसमेत निर्माण भएको छ।

बोक्रेमा रहेका तीनवटा मुहानबाट ११ वटा रिजर्भ ट्यांकीमा पानी संकलन गरेर वितरण गर्ने संरचना बनाएको नेवा संस्थाका प्राविधिक सुरेन्द्र चन्दले बताए। यस आयोजनाको मुख्य र शाखा पाइपलाइनको दूरी २१ हजार ४६८ मिटर लामो छ।

प्रकाशित: २३ जेठ २०८२ ६:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast