
काठमाडौँ– सन् १९५० मा मौरिस हर्जोग र लुइस लोचनालद्वारा अन्नपूर्ण हिमालको पहिलो सफल आरोहणको ७५ औँ वार्षिकोत्सवको अवसरमा पोखरास्थित अन्तर्राष्ट्रिय पर्वत संग्रहालयमा विशेष कार्यक्रमको आयोजना गरिएको छ।
नेपाल पर्वतारोहण संघ र नेपालस्थित फ्रान्सेली दूतावासको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रमका प्रमुख अतिथि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सन् १९५० को आरोहण टोली प्रमुख आङ थरके शेर्पा, मौरिस हर्जोग तथा अन्नपूर्ण शिखरमा पुग्ने पहिलो नेपाली वालुङ सोनाम शेर्पाको सालिक अनावरण गरिएको थियो।
कार्यक्रममा गण्डकी प्रदेशका वन तथा वातावरणमन्त्री भेषबहादुर पौडेल र फ्रान्सकी राजदूत भर्जिनी कोर्तेवालले ‘मित्रताको शिखर ः अन्नपूर्णा आरोहणको ७५ वर्ष’ शीर्षकको फोटो प्रदर्शनी संयुक्त रुपमा उद्घाटन गर्दै अन्तर्राष्ट्रिय पर्वत संग्रहालयलाई हस्तान्तरण गरे। यो प्रदर्शन स्वराज मान चित्रकारद्वारा सम्पादन गरिएको हो भने एलायन्स फ्रान्सेजले सहयोग गरेको हो।
कार्यक्रममा मौरिस हर्जोगका छोरा माथियास हर्जोगले सन् १९५० मा प्रयोग गरिएको वर्ष काट्ने बन्चरो स्विटजरल्याण्डस्थित ओलम्पिक संग्रहालय लुसानेबाट ल्याई अन्तर्राष्ट्रिय पर्वत संग्रहालयलाई ऋणस्वरुप प्रदान गरे।
त्यस अवसरमा मौरिस हर्जोगको प्रसिद्ध पुस्तक ‘अन्नपूर्णा प्रिमियर : ८०००’ को नेपाली अनुवादको आवरण माथियास हर्जोग र आङ थरके शेर्पाका नाति सारियल सोनाम शेर्पाले संयुक्त रुपमा सार्वजनिक गरे।