
काठमाडौँ- ग्लोबल आईएमई बैंक लिमिटेडले विश्व वातावरण दिवसको अवसर पारेर विद्युतीय सवारी साधन (ईभी) चार्ज गर्न चार्जिङ स्टेशन स्थापना गरेको छ।
बैंकले आफ्नो कर्पोरेट कार्यालय कमलादीमा चार्जिङ स्टेशन स्थापना गरेको हो।
बिहीबार आयोजित एक विशेष कार्यक्रमका बीच बैंकका सञ्चालक कृष्णप्रसाद शर्मा, बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल र गाडी चार्ज प्रालिका प्रमुख कार्यकारी अधिकृत प्रेशा श्रेष्ठले संयुक्तरूपमा चार्जिङ स्टेशनको उद्घाटन गरे।
गाडी चार्ज प्रालिसँगको सहकार्यमा बैंकले स्थापना गरेको सीसीटु सिंगल गनको ४० किलोवाट क्षमता रहेको छ।
चार्जिङ स्टेशनमा बैंकमा सेवाका लागि आउने ग्राहक र बैंकका कर्मचारीहरूलाई ईभी गाडी चार्ज गर्ने व्यवस्था गरिएको बैंकले जनाएको छ।
पछिल्लो समय विद्युतीय सवारी साधनको प्रयोगकर्ता बढेसँगै बैंकमा आउने ग्राहकहरूको सवारी साधनलाई लक्षित गरी बैंकले चार्जिङ स्टेशन सञ्चालन ल्याइएको बैंकको भनाइ छ।
बैंकका सञ्चालक शर्माले आफ्ना ग्राहकहरूको सुविधालाई मध्यनजर गरी वातावरण अनुकूल ईभी सवारी साधन प्रवद्र्धनको पहलस्वरूप चार्जिङ स्टेशनको स्थापना गरेको जानकारी दिए।
बैंकका नायब प्रमुख कार्यकारी अधिकृत पोखरेलले बैंक वातावरण संरक्षण र उत्तरदायी बैंकप्रति प्रतिबद्ध रहेको बताए। उनले ग्लोबल आईएमई बैंकले आफ्नो १८ औँ वार्षिकोत्सव तथा विश्व वातावरण दिवसको अवसरमा १८ हजार विरुवारोपण गरिरहेको बताउँदै बैंकले वातावरणमैत्री योजनाहरू ल्याएर वातावरण संरक्षण र जलवायु परिवर्तनको असर न्यूनीकरणमा काम गरिरहेको बताए।
उनले ग्लोबल आईएमई बैंकले सञ्चालन गरेको ईभी चार्जिङ स्टेशन अन्य बैंक तथा वित्तीय संस्थाहरूले समेत अबलम्बन गर्ने विश्वास व्यक्त गरे।
कार्यक्रममा बैंकका उच्च पदस्थ कर्मचारी र गाडी चार्ज प्रालिको प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।