विश्व वातावरण दिवस विशेष

व्यक्तिगत व्यवहार र वातावरण संरक्षण

पवित्रा लामिछाने २२ जेठ २०८२ १५:५४
42
SHARES
व्यक्तिगत व्यवहार र वातावरण संरक्षण

विश्वको सर्वोच्च शिखर सगरमाथा मित्रता र आशाको प्रतीक हो। यसलाई मानवताको साझा कल्याण र सामूहिक हितको पक्षपोषकका रूपमा चिनिन्छ। पृथ्वीको सबैभन्दा अग्लो प्राकृतिक स्थलचिह्नका रूपमा सगरमाथा विश्वव्यापी घटनाको साक्षी पनि हो। यहाँ हाम्रो गौरव सगरमाथाको वर्णन नभई व्यक्तिगत जीवनशैलीले वातावरणमा केकस्ता अ‍सर र परिवर्तन ल्याउन सक्छ भन्नेबारेमा चर्चा गरिएको छ। यसअन्तर्गत  सार्वजनिक यातायातको प्रयोग, पैदलयात्रा, कुनै वस्तुको पुनःप्रयोग, प्लास्टिकको न्यूनतम प्रयोग, कागजको विवेकपूर्ण उपयोग, फोहोर छुट्ट्याउने बानी, ऊर्जा तथा पानीको संरक्षण, सामुदायिक सरसफाइ र तिनले दिगो विकास लक्ष्यमा पुर्‍याउन सक्ने योगदान केके हुन सक्छन् भन्ने प्रश्नको उत्तर खोज्ने प्रयास गरिएको छ।

वातावरणीय चुनौती र दिगो विकास लक्ष्य

विश्वव्यापी रूपमा जलवायु परिवर्तन, वायु प्रदूषण, जैविक विविधताको ह्रास तथा फोहोर व्यवस्थापनका चुनौती तीव्र बन्दै गएका छन्। यिनको समाधानका लागि व्यक्तिगत व्यवहारमा परिवर्तन महत्त्वपूर्ण मानिन्छ। सन् २०१५ मा संयुक्त राष्ट्रसंघले घोषणा गरेका १७ दिगो विकास लक्ष्यमध्ये लक्ष्य १३ (जलवायु कार्य), लक्ष्य १२ (जिम्मेवार उपभोग र उत्पादन), लक्ष्य ११ (दिगो सहरहरू) र लक्ष्य १५ (स्थलीय जीवन संरक्षण) वातावरणसँग प्रत्यक्ष सम्बन्धित छन्। यी लक्ष्य प्राप्त गर्न नीतिगत तथा वित्तीय उपायहरूसँगै नागरिक चेतना र सहभागिता अपरिहार्य छन्।

व्यक्तिगत निर्णयको प्रभाव

नेपालजस्तो सहरीकरणतर्फ उन्मुख समाजमा व्यक्तिका दैनिक निर्णय वातावरणमा प्रत्यक्ष असर पार्छन्। उदाहरणका लागि मोटरको सट्टा साइकल वा पैदलयात्रा अपनाउँदा स्वास्थ्यमा सुधार आउँछ र वायु प्रदूषणमा कमी आउँछ। एसियाली विकास बैंक (२०२२) का अनुसार काठमाडौँ उपत्यकाको ३९ प्रतिशत वायु प्रदूषण यातायातसँग सम्बन्धित छ। यस सन्दर्भमा साइकल संस्कृतिको प्रवर्द्धन अत्यन्त उपयोगी हुन सक्छ, जसका लागि काठमाडौँ महानगरपालिकाले साइकल लेन निर्माणलाई प्राथमिकता दिनुपर्छ।

फोहोर व्यवस्थापन र प्लास्टिक प्रदूषण

फोहोरको स्रोतमै व्यवस्थापन, जैविक फोहोरबाट कम्पोस्ट निर्माण तथा रिसाइकलको अभ्यासले वातावरणमा सकारात्मक असर पार्छ। Recycle Nepal (२०२३) का अनुसार प्रत्येक घरले फोहोर छुट्ट्याउने बानी बसालेमा कुल फोहोरको ६० प्रतिशत रिसाइकल गर्न सकिन्छ। ललितपुरको एक समुदायले जैविक फोहोरबाट मल बनाएर बगैँचामा प्रयोग गर्दा ल्यान्डफिलमा पर्ने चाप न्यून भएको उदाहरण उल्लेखनीय छ।

नेपालमा प्लास्टिक झोलाको अत्यधिक प्रयोग वातावरणीय समस्या बनिरहेको छ। यूएनईपी (२०२२) का अनुसार एक व्यक्तिले कपडाको झोला प्रयोग गर्दा वार्षिक ७० प्लास्टिक झोला कम गर्न सकिन्छ। बनेपाका स्थानीय बजारमा सञ्चालित कपडाको झोला प्रयोग अभियानले प्लास्टिकको प्रयोग ३० प्रतिशतले घटाएको तथ्य उदाहरणीय छ। यस्तै पुराना कपडाबाट टोकरी, पुछ्ने कपडा वा निर्माण सामग्री उत्पादनले प्राकृतिक स्रोतको संरक्षणमा भूमिका खेल्छ।

ऊर्जा, पानी र कागज संरक्षण

लिड बल्बको प्रयोग, चुहिने धारा मर्मत र पानीको खपत नियन्त्रणले स्रोतको दीर्घकालीन संरक्षणमा मद्दत गर्छ। नेपाल विद्युत् प्राधिकरण (२०२३) का अनुसार यस्ता अभ्यासले घरायसी ऊर्जा खर्च १५ प्रतिशतले घटाउन सकिन्छ। भक्तपुरका केही विद्यालयले सौर्य ऊर्जा तथा वर्षाको पानी संकलन प्रणाली अपनाएका छन्, जुन दिगो उपयोगको उदाहरण हो।

कागजको अत्यधिक प्रयोगले वन विनाश बढ्छ। डब्ल्यूडब्ल्यू (२०२२) का अनुसार,एक टन कागज उत्पादनका लागि १७ रूख फाँडिन्छ। डिजिटल प्रविधिको प्रयोग (जस्तै Google Docs, क्लाउड स्टोरेज) तथा रिसाइकल कागजको प्राथमिकताले वन संरक्षणमा योगदान पुर्‍याउँछ। त्रिभुवन विश्वविद्यालय डिजिटल असाइनमेन्ट र ई-बुक्समा केन्द्रित हुँदा कागजको खपत २० प्रतिशतले घटेको उदाहरण छ।

वृक्षरोपण र सामुदायिक सरसफाइ

वृक्षरोपण वातावरण संरक्षणको प्रभावकारी उपाय हो। ‘एक व्यक्ति-एक बिरुवा’ अभियानले नागरिक सहभागिता र चेतनाको वृद्धिमा सहयोग गर्छ। उदाहरणका लागि चितवनको एक समुदायले नदी किनारमा पाँच हजार बिरुवा रोपेर बाढी नियन्त्रण तथा जैविक विविधता संरक्षणमा उल्लेखनीय योगदान दिएको छ।

सामुदायिक सरसफाइ अभियानहरूले सामाजिक ऐक्यबद्धता र वातावरणप्रेमी व्यवहार प्रवर्द्धन गर्छन्। Recycle Nepal जस्ता संस्थाहरूले सञ्चालन गरेको Clean Kathmandu र Green Weekend जस्ता कार्यक्रमहरूले खोला, पार्क र बस्ती सफा पार्दै आएका छन्। पोखराको फेवाताल सफाइ अभियान पर्यटकीय संरक्षण र जलस्रोत व्यवस्थापनको उत्कृष्ट उदाहरण हो।

निष्कर्ष

वातावरणीय संकटको समाधान नीति, प्रविधि र नागरिक चेतनाको समन्वयबाट सम्भव छ। साइकल चढ्ने, फोहोर छुट्ट्याउने, कपडाको झोला बोक्ने, ऊर्जा बचत गर्ने र डिजिटल प्रणाली अपनाउने जस्ता व्यक्तिगत अभ्यासहरू दीर्घकालीन परिवर्तनका संवाहक हुन्। सगरमाथा संवादले देखाएझैं, नीतिगत पहल र व्यक्तिगत प्रयासको संयोजनले मात्र दिगो भविष्यको मार्ग निर्माण गर्न सकिन्छ।

विश्व वातावरण दिवस २०२५ को नारा ‘हाम्रो पृथ्वी, हाम्रो भविष्य’ लाई व्यवहारमा उतार्न व्यक्तिगत तथा सामूहिक स्तरमा जिम्मेवार कदम चाल्नु अत्यावश्यक छ। वातावरण संरक्षण नीतिमात्र होइन, जिम्मेवार जीवनशैली पनि हो। प्रत्येक नागरिकको ससाना व्यावहारिक परिवर्तनले नै दिगो विकासको लक्ष्य नजिक ल्याउँछ।

[लामिछाने क्लिन अप नेपालमा आबद्ध छिन्।]


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast