
काठमाडौँ- नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले राजावादीहरू तुहिसकेको बताएका छन्। बिहीबार जनकपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग संक्षिप्त कुरा गर्दै उनले यस्तो बताएका हुन्।
सभापति देउवाले देशमा राजावादी नरहेको जिकिर गरे। ‘कहाँ छ राजावादी? तुहिसक्यो!,’ सञ्चारकर्मीहरूको प्रश्नमा सभापति देउवाले भने।
उनले वर्तमान सत्ता गठबन्धन आगामी चुनावसम्म कायम रहने बताए। देउवाले कांग्रेस–एमाले गठबन्धन ०८४ सम्म कायम रहने दाबी गररे। वर्तमान सत्ता गठबन्धन राम्रोसँग चलेको उनको भनाइ छ।
सभापति देउवाले प्रहरी समायोजनका लागि छलफल चलिरहेको जानकारी दिए।
धनुषाको धनुषाधाममा कांग्रेसका दिवंगत नेता ठाकुरप्रसाद ढुंगानाको शालिक अनावरणका लागि सभापति देउवा बिहीबार जनकपुर पुगेका हुन्।
शुक्रबार उनको जनकपुरमा मैथिली विकास कोषको नवनिर्मित भवनको उद्घाटन गर्ने कार्यक्रम छ। भवन उद्घाटन कार्यक्रमपछि उनको शुक्रबार राजधानी फर्किने कार्यक्रम रहेको छ।