
भक्तपुर- सूर्यविनायक नगरपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न जनप्रतिनिधिलाई विद्यालय व्यस्थापन समितिका अध्यक्ष नियुक्त र खुल्ला प्रतिस्पर्धाबाट विद्यालयका प्रधानाध्यापक नियुक्त गरिएको बताएको छ।
नगरपालिकाले आयोजना गरेको दुई दिने सामुदायिक विद्यालयको अध्यक्ष र प्रधानाध्यापकको समिक्षात्मक गोष्ठीमा नगरपालिकाभित्रका २७ सामुदायिक विद्यालयले शैक्षिक गुणस्तर र विद्यार्थी संख्या वृद्धि गरेको निष्कर्ष आज सम्पन्न गोष्ठीबाट निकालिएको छ।
समीक्षामा २७ विद्यालयका प्रधानाध्यापकले प्रस्तुत गरेका विद्यालयको प्रगति र शिक्षा मन्त्रालयअन्तर्गतका विज्ञले गरेको मूल्यांकनको आधारमा नगरपालिकाले सुरु गरेको जनप्रतिनिधिलाई अध्यक्ष र खुल्ला प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्तले शिक्षण सिकाइमासमेत सुधार भएको निष्कर्ष निकालेको हो।
कार्यक्रममा नगरपालिकाका प्रमुख वासुदेव थापाले शैक्षिक गुणस्तर वृद्धि गर्दै शैक्षिक सुधारका लागि विद्यालय व्यवस्थापन समितिको अध्यक्ष नियुक्त गर्ने निर्णय र योग्य व्यक्तिलाई प्रधानाध्यापक बनाउनुपर्छ भन्ने मान्यतालाई निर्णय गरेको दुई वर्षमै व्यापक शैक्षिक गुणस्तमा वृद्धि भएको बताए।
उनले भने, ‘सामुदायिक विद्यालयको शैक्षिक सुधार गर्दै स्थानीय सबै बालबालिका सामुदायिक विद्यालयमा आउन सक्ने वातावरण बनाउनुपर्छ,त्यसका लागि के कति बजेट चाहिन्छ भन्नुस् हामी दिन्छौँ, बजेट हाम्रो शैक्षिक गुणस्तर तपाईँहरूको।’
कार्यक्रममा उपप्रमुख सरिता तिमल्सिना भट्टराईले विद्यालयलाई सुधार भएको नतिजा परीक्षाफलमा पनि देखिनुपर्ने बताउँदै शैक्षिक सुधारमा सबैभन्दा ठूलो भूमिका प्रधानाध्यापको नै भएकाले आमनागरिकमा नतिजा देखिने गरी काम गर्नुपर्ने बताइन्।
खुल्ला प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्त गरेपछिको पछिल्लो दुई वर्षमा आएको सुधारले नगरपालिकाले गरेको नौलो अभ्यास सफल भए पनि विज्ञले दिएको सुझावलाई ग्रहण गर्दै शैक्षिक गुणस्तर अभिवृद्धिमा अझै लाग्नुपर्नेमा जोड दिइन्।
सामाजिक विकास समितिका संयोजक तथा नगर प्रवक्ता रवीन्द्र सापकोटाले सूर्यविनायकको सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर अभिवृद्धिसँगै विद्यार्थी संख्यासमेत बढेको बताए।
नगरभित्र सामुदायिक विद्यालयमा खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्त भएपछि गुणस्तरमा सुधार भई विद्यार्थीको संख्या बढ्दो क्रम रहेको कतिपय विद्यालयमा भर्ना अभियान सुरु नहुँदै विद्यार्थी थेग्नै नसक्ने गरी भर्नाको सिट संख्यानै भरिने अवस्था आउनु खुसीको विषय भएको सापकोटाले बताए।