
काठमाडौँ– २७५ सदस्यीय प्रतिनिधिसभामा निलम्बनमा पर्ने सांसदको संख्या चार पुगेको छ। २०७९ मंसिरमा सम्पन्न चुनावबाट निर्वाचित भएकामध्ये चारजना सांसद निलम्बनमा परेका हुन्।
नेकपा (एकीकृत समाजवादी) का अध्यक्षसमेत रहेका माधवकुमार नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएपछि उनी निलम्बनमा परेका हुन्। पतञ्जली जग्गा हिनामिना प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो, जरिबाना र सजाय माग गर्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको हो।
अध्यक्ष नेपाल प्रतिनिधिसभा निर्वाचनमा रौतहट- १ बाट निर्वाचित भएका हुन्।
यसअघि भ्रष्टाचार मुद्दा लागेपछि नेपाली कांग्रेसका सांसद मोहनबहादुर बस्नेत निलम्बनमा परेका थिए। टेरामक्स प्रकरणमा संलग्न रहेको आरोपमा बस्नेतविरुद्ध आयोगले मुद्दा दर्ता गरेको छ। बस्नेत सिन्धुपाल्चोक-२ बाट निर्वाचित सांसद हुन्।
यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिसमेत रहेका प्रतिनिधिसभा सदस्य रवि लामिछाने निलम्बनमा परेका छन्। सहकारी ठगी प्रकरण र सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता भएपछि निलम्बनमा परेका हुन्। लामिछाने चितवन-२ बाट निर्वाचित सांसद हुन्।
निलम्बनमा रहेका अर्का सांसद हुन् एमालेका टोपबहादुर रायमाझी। उनी नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएका छन्। रायमाझी २०७९ को प्रतिनिधिसभा चुनावमा अर्घाखाँचीबाट निर्वाचित भएका थिए।
एक सांसद भने सहकारी ठगी प्रकरणमा मुछिएपछि फरार रहेकी छन्। फरार हुने सांसदमा राप्रपाकी सांसद गीता बस्नेत हुन्।
प्रतिनिधिसभा नियमावलीको दफा २४८ (३) मा लेखिएको छ- ‘प्रचलित कानुनबमोजिम तीन वर्ष वा सोभन्दा बढी कैदको सजाय हुने वा नैतिक पतन देखिने फौजदारी मुद्दामा अभियोगपत्र दायर भई निज पुर्पक्षको लागि थुनामा रहेकोमा त्यस्तो थुनामा रहेको अवधिभर वा अदालतको आदेशबमोजिम पुर्पक्षको लागि थुनामा बस्नुपर्नेमा त्यस्तो थुनामा नबसी फरार रहेको भएमा निजलाई सदस्यको हैसियतले कुनै कार्य गर्न वा कुनै अधिकार वा उन्मुक्ति प्राप्त हुने छैन र त्यस्तो अवधिभर निज निलम्बनमा रहने र पारिश्रमिक, सेवा र सुविधा समेत स्थगित हुने छ।’