
काठमाडौँ- सरकारले नेपाली आमाबाट जन्मिएका सन्तानलाई नागरिकता प्रदान गर्न थप सजिलो बनाउने भएको छ। गृहमन्त्री रमेश लेखकले नेपाली आमाबाट जन्मिएका सन्तानलाई नागरिकता प्रदान गर्न सरलीकृत गर्न लागिएको बताएका हुन्।
उनले बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक २०८१ माथिको छलफलका क्रममा मन्त्री लेखकले स्वघोषणा गरेका आधारमा नेपाली आमाबाट जन्मिएका सन्तानलाई नागरिकता प्रदान गर्न सरलीकृत गर्दै लैजाने बताए।
बुबाको नागरिकता भए तत्काल नागरिकता दिने र आमाको नागरिकतामात्रै भए बाबु खोज्ने परिस्थितिले जटिलता उत्पन्न भएकाले नागरिकता विधेयकको संशोधनले त्यसलाई समाधान गरिने उनले बताए। गृहमन्त्री लेखकले अंगीकृत नागरिकका विषयमा देखिएका जटिलतालाई समेत विधेयकले सम्बोधन गर्ने बताए।
देशभरका सबै जिल्ला प्रशासन कार्यालयका साथै इलाका कार्यालयबाट व्यवस्थित रुपमा नागरिकता वितरण भइरहेको जानकारी दिँदै मन्त्री लेखकले टोकन प्रणालीमार्फत परामर्शसहित सेवा प्रदान भइरहेको बताए।