
चितवन- धार्मिकस्थल देवघाटधामदेखि कालीगण्डकी किनारैकिनार दामोदरकुण्डसम्मको ऐतिहासिक कालीगण्डकी पदयात्रा सुरु भएको छ। सोमबार बिहान देवघाटस्थित वेणीमा गण्डकी पूजा गरी यात्रा शुभारम्भ गरिएको हो।
देवघाटस्थित महेश संन्यास आश्रमका संरक्षक श्री १००८ स्वामी मधुसुदनानन्द गिरी, अध्यक्ष श्री १००८ स्वामी रमणानन्द गिरी र डा. गुरुप्रसाद सुवेदीलगायतले गण्डकी पूजा गरी यात्रा शुभारम्भ गरेका हुन्।
पदयात्राका संयोजक फणीन्द्रप्रसाद पौडेलले जनस्तरमा गण्डकीको महत्त्व र सम्भावनालाई प्रचारप्रसार गरेर कालीगण्डकी, तिनका किनारमा अवस्थित सिद्ध तीर्थस्थल र समग्र कालीगण्डकी सभ्यताको संरक्षण तथा संवर्द्धनमा टेवा पुर्याउने उद्देश्यले नेपाल तथा भारतका मुख्य पीठ र आश्रमका साधुसन्त एवम् धार्मिक अभियन्ताको अगुवाइमा पदयात्रा सुरु गरिएको जानकारी दिए। उनले भने, ‘नेपाल र भारतका प्रमुख पीठहरूका मठाधीशको आह्वान, उपस्थिति र सहभागितामा यात्रा सुरु भएको हो।’

पौडेलका अनुसार पदयात्राका क्रममा देवघाटधाम-केलादीघाटधाम-राम्दीधाम-ऋषिकेशधाम-रुद्रवेणीधाम-सेतीबेनीधाम-मोदीबेनीधाम-गलेश्वरधाम-कागबेनीधाम-मुक्तिनाथधाम-दामोदरकुण्डधाममा विशेष पूजा एवं जागरणसभा हुनेछ। ‘ऐतिहासिक पदयात्रामा सहभागी हुन चाहने सबै भक्तजन मुख्य तीर्थहरूमा हुने विशेष गण्डकी पूजन र जागरण सभामा सहभागी बन्न सक्नुहुनेछ’, पौडेलले भने।
यात्रामा दैनिक आठ घण्टा २० किलोमिटरसम्म यात्रा गरिने जनाइएको छ। नेपाल संस्कृत विश्वविद्यालयका प्राध्यापक डा. गुरुप्रसाद सुवेदीले कालीगण्डकीको महिमा जनमानसमा पुर्याउने यात्राको उद्देश्य रहेको बताए।
गण्डकीको किनारमा भएका विभिन्न धार्मिक स्थलहरुका संरक्षण एवं प्रवर्द्धनमा यात्राले सहयोग पुग्ने उनको भनाइ छ। जीवन जिउने आधार प्राकृतिक स्रोत सम्पदा भएको उल्लेख गर्दै नदीलगायतको संरक्षणमा सबै जुट्नुपर्ने उनले बताए।
देवघाटस्थित महेश संन्यास आश्रमको संयोजनमा शालिग्राम करिडोरको ४३१ किलोमिटर दूरीको पदयात्रा सुरु भएको हो। समुद्री सतहबाट २२० मिटर देखि चार हजार ९९० मिटर उचाइ सम्म २२ देखि २५ दिन यात्रा गरिनेछ। पदयात्रा गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका नौवटा जिल्ला तनहुँ, नवलपुर, पाल्पा, स्याङ्जा, गुल्मी, बागलुङ, पर्वत, म्याग्दी, मुस्ताङका विभिन्न तीर्थहरूको दर्शन र पूजा गरी अघि बढ्ने पौडेलले बताए। उनले पदयात्राको आरम्भमा सहभागी हुन नसकेका श्रद्धालुलाई पायक पर्ने ठाउँमा रहेर सहभागिता जनाउन आह्वान गरेका छन्।