
काठमाडौँ- नेपाल निजामती कर्मचारी संगठनले आफ्ना मागबमोजिम संघीय निजामती ऐन जारी नभए चरणबद्ध आन्दोलन गर्ने निर्णय गरेको छ। काठमाडौँमा हालै सम्पन्न दोस्रो केन्द्रीय कार्यसमिति बैठकका निर्णय सार्वजनिक गर्न बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै संगठनले कर्मचारी तथा ट्रेड युनियनमैत्री ऐन जारी हुन नसके चरणबद्ध आन्दोलन गर्ने निर्णय गरेको हो।
बैठकले तीनै तहमा कार्यरत कर्मचारीलाई मार्गनिर्देशन गर्ने मूल कानुनका रुपमा रहेको संघीय निजामती सेवा ऐन जारी गर्न सरकारले ढिलासुस्ती गरेको भन्दै ध्यानाकर्षण गराउने निर्णय गरिएको संगठनका महासचिव रामचन्द्र अधिकारीले जानकारी दिए।
उनले तीनै तहका कर्मचारीलाई निजामती कर्मचारीको परिभाषामा समावेश गरी कर्मचारी तथा ट्रेड युनियनमैत्री ऐन जारी गर्न विशेष पहल गर्ने बताए।
संगठनले कार्यालय प्रमुखबाहेक शाखा अधिकृत वा आठौँ तहसम्मका कर्मचारीहरू सदस्य हुन पाउने गरी सामूहिक सौदाबाजीसहितको राष्ट्रिय स्तरका ट्रेड युनियन र आधिकारिक ट्रेड युनियनको व्यवस्था हुनुपर्ने माग अघि सारेको छ।
संघीय निजामती सेवा ऐन जारी भएपछि संघीय कानुनबमोजिम संघ, प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारीलाई एकपटक समयोजनका लागि छनोटको अवसर प्रदान गर्नुपर्ने, योग्यता पुगेका कर्मचारीलाई श्रेणी वृद्धि गरी तह मिलान गर्नुपर्ने, अस्थायी करारमा काम गरेका कर्मचारीलाई एकपटक उमेरको हद नलाग्ने गरी सीमित प्रतियोगितावाट स्थायी गर्नुपर्नेलगायका माग राखेको छ।