शैक्षिक गुणस्तर र सेवासुविधा बढाउन माग गर्दै बाल विकास शिक्षकले बुझाए ध्यानाकर्षणपत्र

हिमाल प्रेस २२ जेठ २०८२ १३:०२
2.9k
SHARES
शैक्षिक गुणस्तर र सेवासुविधा बढाउन माग गर्दै बाल विकास शिक्षकले बुझाए ध्यानाकर्षणपत्र

कैलाली- गौरीगंगा नगरपालिकामा कार्यरत बाल विकास शिक्षकहरूले आफ्ना सेवासुविधा, तलबभत्ता र शैक्षिक वातावरणमा सुधारको माग गर्दै नगरप्रमुख देविदत्त कडेलमार्फत ध्यानाकर्षण गराएका छन्।

नेपाल बाल विकास शिक्षक गौरीगंगा नगर समितिअन्तर्गतका शिक्षकहरूले लामो समयदेखि सामुदायिक विद्यालयको पूर्वप्राथमिक कक्षामा बालबालिकाको सर्वाङ्गीण विकासमा योगदान दिँदै आए पनि राज्यले श्रमको सम्मान नगरेको गुनासो गरेका छन्।

समितिकी अध्यक्ष विमला शाह र सचिव राधा बोहराद्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा विगतका आन्दोलन र सम्झौता कार्यान्वयन नहुनु, बढ्दो महँगीका कारण जीविकोपार्जन गर्न मुस्किल भईरहेको र राज्यको शिक्षा क्षेत्रप्रतिको अनुदार नीतिप्रति गम्भीर असन्तोष व्यक्त गरिएको छ।

उनीहरूका अनुसार अस्थिर राजनीतिक परिस्थितिका कारण शिक्षासम्बन्धी ऐन तथा नियमावली निर्माणमा ढिलाइ हुँदा बाल विकास शिक्षकहरू निरन्तर श्रमशोषणमा परेका छन्।

ध्यानाकर्षण पत्रमा गौरीगंगा नगरपालिकाले सञ्चालन गरिरहेका बाल विकासलाई मन्टेश्वरी कक्षाको रूपमा व्यवस्थित गर्नुपर्ने, शिक्षकहरूले स्थानीय तहबाट खाइपाई आएको तलबभत्ता यथावत् राखिनुपर्ने तथा तिनको क्षमता विकासका लागि तालिमको व्यवस्था गरिनुपर्ने माग गरिएको छ।

यस्तै, नगरमा कार्यरत बाल विकास शिक्षकलाई पनि संघीय सरकारअन्तर्गत कार्यरत शिक्षकसरह तलब तथा पोसाकभत्ता प्रदान गरिनुपर्ने माग छ। साथै, समुदायमा रहेका बाल विकास केन्द्रहरूको आवश्यकता अनुसार व्यवस्थापन गर्न, प्रत्येक विद्यालयमा कम्तीमा दुई जना बालविकास शिक्षकको व्यवस्था गर्न र बालबालिकाको समग्र विकासका लागि प्रत्येक विद्यालयमा बालउद्यानको निर्माण गर्न पनि समितिले जोड दिएको छ।

बाल  विकास शिक्षकहरूले सामुदायिक विद्यालयको आधार निर्माणमा आफ्नो महत्त्वपूर्ण भूमिका रहे पनि राज्यले निरन्तर बेवास्ता गर्दै आएको भन्दै अबको बजेटमा यथोचित् स्थान नपाए संघर्षमा जानुपर्ने बाध्यता आउन सक्ने चेतावनीसमेत दिएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast