
काठमाडौँ- नेकपा माओवादी केन्द्रले सदनको गतिरोध अन्त्य गर्न अधिकतम प्रयास गर्ने निर्णय गरेको छ। पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा बिहीबार बसेको माओवादी पदाधिकारी बैठकले भिजिट भिसा प्रकरणलाई दिएर लामो समयदेखि भइरहेको सदनको गतिरोध अन्त्यका लागि जिम्मेवारी प्रतिपक्षीको हैसियतले अधिकतम पहल गर्ने निर्णय गरेको माओवादी प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए।
उनले भिजिट भिसा प्रकरणमा व्यक्ति विशेषमा ध्यान नरहेको तर छानबिन भने अपरिहार्य रहेको पार्टीको निष्कर्ष रहेको बताए। यस विषयमा विपक्षी दलका साथै सत्तापक्ष दलसँग छलफल गर्ने बताए।
भिजिट भिसामा विदेश जानेहरूसँग ‘सेटिङ’ मिलाएर रकम लिने कार्यमा सचिवालय संलग्न रहेको आरोप लागेपछि गृहमन्त्री रमेश लेखक विवादमा तानिएका छन्।
उक्त प्रकरणमा गृहमन्त्री लेखकको समेत ‘मिलेमतो’ भएको भन्दै विपक्षी दलहरू विरोधमा उत्रिएका छन्। उनीहरूले अघिल्लो साता पनि गृहमन्त्रीको राजीनामा माग गर्दै प्रतिनिधिसभा बैठक चल्न दिएनन्। जेठ १५ गतेको बैठक बजेट पारित गराउनका लागि मात्रै अवरुद्ध नगरिएको प्रतिपक्षीहरूले बताउँदै आएका छन्। विपक्षी अवरोधका कारण मंगलबार र बुधबार पनि प्रतिनिधिसभा बैठक बस्न सकेन।
माओवादी पदाधिकारी बैठकले वाईसीएलको नेतृत्व सहमतिमा नै चयन गर्ने निर्णय गरेको छ। माओवादीको युवा भ्रातृ संगठन वाईसीएल नेपालको राष्ट्रिय सम्मेलन काठमाडौँमा जारी छ। सम्मेलन सुरु भएको चार दिनसम्म पनि वाईसीएलको नयाँ नेतृत्व चयन हुन सकेको छैन।
सापकोटाले आफूविरुद्धको द्वन्द्वकालीन मुद्दामा पुनः छानबिन गर्न सर्वोच्चले दिएको आदेशको पूर्णपाठ आएपछि धारणा बनाउने बताए। उनले भने, ‘यस विषयमा बाहिर भएका प्रचारमा कुनै सत्यता छैन।’ सर्वोच्च अदालतले बुधबार सापकोटाविरुद्ध परेको एउटा द्वन्द्वकालीन मुद्दामा थप अनुसन्धान गर्न बाटो खुल्ने गरी उत्पेषण आदेश दिएको थियो।