
प्रिय हावा स्वच्छ राख्न लौ मैले सकिनँ
क्षमा देऊ आज मलाई रुन्छु छिनछिन
प्रिय माटो, प्रिय पानी प्रिय बादल भन्दै
बिना तिम्रो चाहनामा विकास नारा गन्दै
जोगाऔँ वनपाखा, गाउँदै हिँडौँ हाम्रै लोकभाका
था’छ मलाई मेरा अंगभंग हुँदै गाछन्
तर तिम्लाई बिगार्नमै मान्छे खडा भा’छन्
तिम्लाई जोगाउने झुठा कथन बोक्दै हिँड्छन्
दाउरा घोचा सुरिला ती बिरुवालाई गिँड्छन्
जोगाऔँ वनपाखा, गाउँदै हिँडौँ हाम्रै लोकभाका
साँच्ची तिमी भगवान् हौ मैले बल्ल चिनेँ
चिसो, गर्मी, जाडो हाम्लाई मिलाई मिलाई दिने
बागमतीले धिक्कार्ला है वरपीपलले पनि
यै घमण्ड पालिरहे हुन्नौँ कैल्यै धनी
जोगाऔँ वनपाखा, गाउँदै हिँडौँ हाम्रै लोकभाका
प्रिय हावा तिम्लाई सकी सिलिन्डरको ध्यान भो
जार बोतलमा शुद्ध पानी खोज्ने मेरो ज्ञान भो
नशा सड्क्यो मुटु धड्क्यो फोक्सो गर्छ स्वाँस्वाँ
हस्पिटलको बास बसाइले रुन्छ मान्छे क्वाँक्वाँ
जोगाऔँ वनपाखा, गाउँदै हिँडौं हाम्रै लोकभाका।
छोरा नाति देख्ने गर्छन् बग्दै गर्ने ढल
उड्ने धुलोधुवाँ अनि प्लास्टिक कृत्रिम मल
मैले पाको सर्टिफिकेट खोष्टो सावित भयो
वातावरण नजोगाउँदै आफ्नै प्राण गयो
जोगाऔँ वनपाखा, गाउँदै हिँडौँ हाम्रै लोकभाका।