एसियन हाइवे : इटहरीमा भत्किने भए १२४ संरचना, बर्खाअघि ‘डाइभर्सन’ बन्द

विवेक विवश रेग्मी २२ जेठ २०८२ ११:५२
280
SHARES
एसियन हाइवे : इटहरीमा भत्किने भए १२४ संरचना, बर्खाअघि ‘डाइभर्सन’ बन्द निर्माणाधीन एसियन हाइवेअन्तर्गत काँकडभिट्टा-लौकही सडक। तस्बिर : हिमालप्रेस

इटहरी- निर्माणाधीन एसियन हाइवेअन्तर्गत काँकडभिट्टा-लौकही सडक योजना (पश्चिम खण्ड) को इटहरी खण्डमा पर्ने सडक क्षेत्र विस्तारका क्रममा एक सय २४ वटा संरचना भत्किने भएको छ। जिल्ला प्रशासन कार्यालय, सुनसरीले बिहीबार सूचना जारी गर्दै इटहरी बूढीखोलादेखि लबीपुरसम्म देवीखोला सडक खण्डमा पर्ने संरचना हटाउनुपर्ने जानकारी दिएको हो। सूचनामा ती संरचना सरकारी नक्साअनुसार सडक सीमाभित्र परेकाले मुआब्जा तथा क्षतिपूर्तिसहित हटाइने उल्लेख छ।

प्रशासनले प्रभावित संरचना धनीहरूलाई ३५ दिनभित्र हटाउन अनुरोध गरेको छ। तोकिएको समयावधिमा हटाइएमा मात्र क्षतिपूर्ति पाइने स्पष्ट सूचनामा उल्लेख छ। एसियन हाइवेको यो खण्डको विस्तारसँगै इटहरी क्षेत्रको सडक पूर्वाधार सुधार हुने अपेक्षा गरिएको छ।

सडक स्तरोन्नति गर्ने क्रममा संरचना हटाउनुपर्ने भएकाले जग्गा प्राप्ति ऐन, २०३४ को दफा १८ को प्रयोजनका लागि उक्त सूचना प्रकाशित काँकडभिट्टा-लौकही सडक आयोजना पश्चिम खण्ड इटहरी कार्यालयका सूचना अधिकारी इन्जिनियर पल्लव श्रेष्ठले जानकारी दिए।

‘सूचना प्रकाशन भएको मितिले १५ दिनपछि सम्बन्धित व्यक्ति वा हकवालाले नेपाली नागरिकताको प्रतिलिपि, स्थानीय निकायबाट तीनपुस्ते खुल्ने प्रमाणित कागजात र निजको हकवालाको हकमा नाता प्रमाणित कागजात तथा प्रभावित संरचनाको प्रस्ट देखिने प्रमाणित फोटो, सम्बन्धित व्यक्तिको बैंक खाता नम्बर, पान नम्बरलगायत अन्य आवश्यक कागजातसमेत संलग्न गरी मुआब्जा क्षतिपूर्तिका लागि निवेदन पेस गर्न सकिनेछ,’ सूचनामा उल्लेख छ।

सूचनामा  मुआब्जासम्बन्धी थप विवरणका लागि आयोजना कार्यालय इटहरी-सुनसरीमा सम्पर्क गर्न भनिएको छ। यसअघि पुस मसान्तभित्रै संरचना भत्किने विषयमा तयारी गरिए पनि विभिन्न कारणले काममा ढिलाइ भएको हो।

‘इटहरीमा सडक क्षेत्रमा पर्ने घर भत्किनेछन्। सबै घर तथा भवन आंशिक रूपमा भत्किन्छन्,’ श्रेष्ठले भने, ‘पूरै क्षति हुने कुनै पनि छैनन्। सबै आंशिक भएकाले घरधनीले आफैँ संरचना हटाउन आग्रह गरिएको छ। संरचना आफैँ नहटाएमा कानुनअनुसार काम अगाडि बढ्छ।

आयोजना कार्यालय र भवन विभागले संयुक्त रूपमा नापजाँच गरिसकेपछि जिल्ला प्रशासन कार्यालयबाट यकिन तथ्यांक आएकाले सूचना प्रकाशन गरिएको उनले जनाए। सहरी विकासअन्तर्गतको संघीय आयोजना कार्यालय विराटनगरले स्टिमेट निकालिसकेको, भवन विभागले मूल्यांकन गरिसकेको उनको भनाइ छ।

उक्त सडक खण्डअन्तर्गत पूर्वी खण्ड र पश्चिम खण्डमा निर्माण कार्य जारी छ। झापाको सीतापुरीदेखि इटहरीको लबीपुरसम्म ९५.७ किलोमिटर सडक निर्माणका लागि ठेक्का लागेर काम भइरहेको छ। पूर्वी खण्डमा ४५ किलोमिटर र पश्चिम खण्डमा ५०.७ किलोमिटर सडकको काम भइरहेको श्रेष्ठ बताउँछन्।

उनले पश्चिम खण्डमा करिब २० प्रतिशत काम भइसकेको बताए। प्याकेज एक र चार पूर्वी खण्डले हेर्दै आएको छ भने प्याकेज दुई, तीन र पाँच पश्चिम खण्डले हेर्दै आएको छ। जसअनुसार प्याकेज दुईमा झापाको सीतापुरीदेखि मोरङको गोठगाउँसम्म पर्छ भने प्याकेज तीन गोठगाउँदेखि इटहरीको लबीपुरसम्म पर्छ। प्याकेज पाँच भने तीन सय मिटरभन्दा लामो पुल पर्ने उनले बताए।

प्याकेज दुईमा हालसम्म २३ प्रतिशत काम भएको छ भने प्याकेज पाँचमा २१ प्रतिशत र प्याकेज तीनमा ११ प्रतिशत काम भएको छ। ‘समयले साथ दिएसम्म बर्खाअघि नै केही भागमा पिच गरिनेछ। मनसुन भएको समयमा पनि फ्याक्ट्रीमा स्टिलको काम हुनेछ,’ श्रेष्ठले हिमालप्रेससँग भने, ‘सहरी क्षेत्रमा बढी चहलपहल गरिने भएकाले सर्भिस लेन निर्माण हुन्छ। जहाँ स्थानीय स्तरमा गुड्ने गाडीहरू सञ्चालन हुन्छन्।’

उनका अनुसार बाक्लो मनसुन हुनुअघि नै प्याकेज २ अन्तर्गत पर्ने मोरङको लक्ष्मीमार्गदेखि कानेपोखरीको जंगल क्षेत्रमा पर्ने सडक पिच गर्ने तयारी छ।

‘सडक विस्तार कार्य तीव्र गतिमा अगाडि बढिरहेको छ। बर्खा सुरु हुनुअघि नै मोरङको लक्ष्मीमार्गदेखि कानेपोखरीसम्मका केही भाग पिच गर्ने तयारी गरिएको छ,’ उनले भने, ‘निर्माणको संरचनाअनुसार सहरी क्षेत्रका सडकहरू ६ लेनका हुनेछन्। जसमा मुख्य चार लेन र अतिरिक्त सर्भिस लेन रहनेछन्। चार लेन सडकमा चल्ने तीव्र गतिका गाडीलाई साना सवारीसाधनले अवरोध नपुर्‍याउने गरी लेन व्यवस्थापन गरिने गरी निर्माण भइरहेको छ। पिच हुने सडक असारभन्दा अगाडि नै सम्पन्न हुनेछन्।’

अहिले इटहरीदेखि पूर्व काँकडभिट्टासम्म विभिन्न स्थानमा डाइभर्सन निकालेर काम भइरहेको छ। डाइभर्सनका कारण लामो रुटमा चल्ने यातायातलाई समस्या हुने गरेको छ। तर बर्खाअघि सबै क्षेत्रका डाइभर्सन ‘क्लोज’ गरिने श्रेष्ठले बताए।

‘जति डाइभर्सन छ, त्यो बर्खाअघि काम सकिएर बन्द हुन्छ। अब डाइभर्सन थपिने अवस्था छैन। जति पनि ठाउँमा डाइभर्सन निकालेर काम भइरहेको छ त्यो बर्खाअघि सम्पन्न हुँदा बाढीको कुनै जोखिम हुँदैन,’ उनले भने। उनका अनुसार बर्खाको समयमा सडकमा काम गर्न समस्या भए पनि फ्याक्ट्रीमा स्टिल निर्माण कार्य चलिरहने र प्राविधिक रूपमा सम्भव भएकाले अधिकांश डाइभर्सन बर्खाअघि नै बन्द गरिने तयारी छ।

आयोजनाअन्तर्गत पूर्वी खण्डका सूचना अधिकारी आशिष देवका अनुसार पूर्वी खण्डमा दुई हजार दुई सयवटा ५९ वटा पोलमध्ये एक हजार छ सय ५९ वटा पोल सारिएको छ। पोल सारिए पनि तार नसर्दा भने समस्या भएको छ। ‘पुरानो पोलको तार नयाँ पोलमा हाल्न समस्या भइरहेको छ,’ देवले भने, ‘पोल त सर्‍यो तर तार सरेन। अझै ६ सय वटा पोल सार्न बाँकी छ। मुख्य कुरा त तार नसर्दासमेत समस्या भइरहेको छ।’

उनका अनुसार प्याकेज एक काँकडभिट्टादेखि सीतापुरीसम्म पर्छ। प्याकेज चारमा तीन सय मिटर लामो तीनवटा पुल छन्। देवका अनुसार कन्काई, बिरिङ, निन्दा पुल प्याकेज चारमा पर्छन्। प्याकेज एकमा २२ प्रतिशत र प्याकेज चारमा १९.७ प्रतिशत काम सम्पन्न भइसकेको उनले बताए।

‘पूर्वी खण्डमा वैशाख १५ देखि नै मनसुन सुरु हुँदा काममा हामीले सोचेभन्दा तीन प्रतिशत ढिलाइ भएको छ,’ उनले भने, ‘वैशाख, जेठ, असारमा बढी काम हुने भए पनि समयअगावै मनसुन हुँदा केही समस्या भइरहेको छ।’

उनका अनुसार पूर्वी खण्डमा ‘साइड क्लियरेन्स’ को कुनै समस्या छैन। डाइभर्सनको काम बन्द गर्ने गरी काम भइरहे पनि मनसुनले केही अवरोध भइरहेको छ। ‘यतिबेलासम्म सबै डाइभर्सन बन्द गरिसक्ने तयारी थियो। तर मनसुनका कारण समस्या भयो,’ उनले भने, ‘अब असारभित्रमा डाइभर्सन बन्द गर्नेछौँ। मनसुन धेरै भएको अवस्थामा कारखानामा काम हुन्छ।’

सहरी क्षेत्रमा ५० मिटर, अर्धसहरी क्षेत्रमा ३३ मिटर र जंगल क्षेत्रमा २४ मिटरको बन्ने उक्त सडक झापाको काँकडभिट्टादेखि सुनसरीको लौकहीसम्म बनाउने गरी डीपीआर र डिजाइन तयार गरिएको थियो। तत्काल भने काँकडभिट्टादेखि इटहरीको लबीपुरसम्म मात्रै सडक निर्माण हुने आयोजनाले जनाएको छ।

सडक सहरी क्षेत्रमा छ लेन र वन क्षेत्रमा चार लेनमा निर्माण हुनेछ। चार लेनमा गुड्ने सवारीसाधन भनेको लामो रुटमा चल्ने सवारीसाधन र त्यसको डिजाइन ‘स्पिड’ प्रतिघण्टा एक सय किलोमिटर छ।

एसियाली विकास बैंकको ऋण सहयोग र नेपाल सरकारसँगको साझेदारीमा उक्त सडक निर्माण भएको हो। जसमा एसियाली विकास बैंकले ८४.१ प्रतिशत ऋण सहयोग गरेको छ भने १५.९ प्रतिशत रकम भने नेपाल सरकारको रहेको छ।

कुल ३४ अर्ब ९१ करोडमा काँकडभिट्टादेखि लौकहीसम्म सडक बन्नेगरी सम्झौता भएको हो। पूर्वी र पश्चिम गरी दुई खण्डमा बन्न लागेको यो आयोजना एसियन हाइवेको एउटा भाग हो। २०२४ फेब्रुअरी १ बाट सुरु भएको योजना २०२७ फेब्रुअरी १ मा सम्पन्न गर्ने लक्ष्य छ।

थाइल्यान्डको बैंककबाट सुरु भएको उक्त हाइवे म्यानमार, बंगलादेश, भारत हुँदै नेपालको पूर्व-पश्चिम राजमार्ग भएर नयाँदिल्लीबाट पाकिस्तानको कराँची पुग्नेछ। भारतले पश्चिम बंगाल हुँदै नेपालको काँकडभिट्टा नाकासम्म उक्त हाइवे विस्तार गरिसकेको छ। काँकडभिट्टादेखि इटहरीसम्म पाँच वटा खण्डमा ठेक्का लागेर काम भइरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast