वाईसीएलमा आकांक्षीको चाङ, अघि बढ्न सकेन चुनावी प्रक्रिया

किरण पौडेल २१ जेठ २०८२ २०:०३
50
SHARES
वाईसीएलमा आकांक्षीको चाङ, अघि बढ्न सकेन चुनावी प्रक्रिया काठमाडौँमा गत सोमबार वाईसीएल नेपालको राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'।

काठमाडौँ- राष्ट्रिय सम्मेलन उद्घाटन भएको तीन दिन बितिसक्दा पनि नेकपा (माओवादी केन्द्र) निकट योङ कम्युनिस्ट लिग (वाईसीएल) को नेतृत्व चयन प्रक्रिया सुरु हुन सकेको छैन। वाईसीएलको तेस्रो राष्ट्रिय सम्मेलन गत सोमबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेका थिए।

नेताहरूका अनुसार महत्त्वपूर्ण पदमा आकांक्षीहरूको लर्को लागेकाले नेतृत्व चयन प्रक्रिया अघि बढ्न सकेको छैन। अध्यक्ष प्रचण्डसहितका नेताले सर्वसम्मतिको प्रयास गरेका थिए। तर धेरै आकांक्षी भएकाले सर्वसम्मतिको प्रयास सफल नभएको नेताहरूको दाबी छ।

यसै कारण अब निर्वाचन प्रक्रियाबाट नेतृत्व चयन अघि बढ्न लागेको वाईसीएलका इन्चार्ज रामप्रसाद सापकोटा ‘दीपशिखा’ले जानकारी दिए। हालका अध्यक्ष सुबोध सेर्पालीले पुनः उम्मेदवारी नदिने घोषणा गरिसकेका छन्। उनको उत्तराधिकारी बन्ने लहरमा दर्जनौँ आकांक्षी देखिएका छन्।

धेरै आकांक्षीमध्ये कसलाई चयन गर्ने भन्ने अन्योल रहेकाले चुनावबाट नेतृत्व छानिने भएको हो। हाल वाईसीएलमा ६१ सदस्यीय पदाधिकारी समिति छ। अध्यक्ष पद खाली भए पनि बाँकी पदाधिकारी स्वतः दाबेदार हुने भएकाले निर्विरोध नेतृत्व चयन कठिन बनेको हो। यद्यपि वाईसीएलमा ४० वर्षे उमेरहदको व्यवस्था लागू छ।

को–को छन् आकांक्षी?

सम्मेलनबाट एक जना अध्यक्ष, उपाध्यक्षमा एक महिला सहित सात जना, महासचिव एक, उपमहासचिव आठ (समावेशी एक र बाँकी खुला), सचिव १७ (प्रादेशिक प्रतिनिधित्वसहित कम्तीमा दुई महिला, एक आदिवासी/जनजाति, एक दलित, एक मधेसी/मुस्लिम/अल्पसंख्यक र बाँकी खुला) चयन हुनेछन्। एक जना खुला कोषाध्यक्ष पनि रहनेछन्।

अध्यक्ष पदका लागि १३ जनाले आकांक्षा देखाएका छन्। वाईसीएलमा पनि पार्टी नेतृत्व झैं गुटबन्दीको प्रभाव देखिएको नेताहरू बताउँछन्। कोही अध्यक्ष प्रचण्ड, कोही वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ र कोही उपमहासचिव जनार्दन शर्मा निकट भन्दै आकांक्षा देखाइरहेका छन्।

नेताहरूका अनुसार हालका उपाध्यक्ष कइरसिंह कुँवर, उपमहासचिव पुष्प ओली, सचिवहरू नवराज ऐर, गणेश शाही, माधव बस्नेत, प्रेम श्रेष्ठ, ठाकुर सौराग र कर्मा पुलामी अध्यक्षको दौडमा छन्। तीमध्ये पुलामी, ओली र कुँवर प्रचण्ड निकट मानिन्छ।

पुलामी कोशी, ओली लुम्बिनी र कुँवर कर्णाली प्रदेशबाट प्रतिनिधित्व गर्छन्। यीमध्ये एकजना अध्यक्ष बन्ने सम्भावना रहेको नेताहरू बताउँछन्। अध्यक्षबाहेक अन्य पदमा पनि आकांक्षीको भीड देखिएको छ। प्रचण्ड निकट मानिने पुलामीलाई अध्यक्ष बनाउन पहल भइरहेको दाबी नेताहरूको छ।

नेताहरूका अनुसार अध्यक्षका लागि दाबेदारी प्रस्तुत गरेका प्रेम श्रेष्ठ नारायणकाजी श्रेष्ठ निकट तथा नवराज ऐर र गणेश शाही जनार्दन शर्मा निकट हुन्। शर्मा पक्ष चुनावी प्रतिस्पर्धामा जान तयार देखिन्छ। यद्यपि निर्वाचनसम्म एकजनालाई मात्रै उम्मेदवार उतार्ने तयारी गरिएको छ।

विधानमा उल्लेख नभएको वरिष्ठ उपाध्यक्ष पदमा समेत धेरै नेताहरूले आकांक्षा देखाएका छन्। लुम्बिनीका हितमान पुनले उक्त पदमा आकांक्षा देखाएका छन्।

महासचिव पदका लागि हरि ढकाल, शिव बोगटी, मुकेश थापा, शोभाराम भण्डारी, धनकुमार मैनाली, कुमार आचार्य र सन्तोष पनेरुले दाबी गरेका छन्। यस पदमा सबैभन्दा बढी प्रतिस्पर्धा हुने नेताहरू बताउँछन्। १७ जना सचिव पदका लागि ३५ जनाले आकांक्षा देखाएका छन्।

निर्वाचन प्रक्राअघि नै मागियो आकांक्षीको नाम

नेताहरूले मंगलबार आकांक्षीको नाम पठाउन आग्रह गरेका थिए। नाम प्राप्त भएपछि मात्र निर्वाचन प्रक्रिया औपचारिक रूपमा सुरु गरिएको हो। एक नेताका अनुसार आकांक्षीहरूको मनोभाव बुझ्न नाम मागिएको थियो।

‘कसकसको दाबी कहाँकहाँ छ भनेर बुझ्ने प्रयास गरिएको हो। हामीले नाम बुझाएका छौँ,’ एक आकांक्षीले भने, ‘हामीलाई आपसी सहमति गर्न अनुरोध गरिएको छ। यही कारण ढिलाइ भएको हो।’ वाईसीएल इन्चार्ज दीपशिखाले निर्वाचन प्रतिनिधिहरूको नाम रुजु गर्ने कार्य जारी रहेको बताए।

‘हामी प्रतिनिधिहरूको सूची रुजु गरिरहेका छौं। यसमा केही समय लाग्ने भएकाले ढिलाइ भएको हो,’ उनले भने, ‘सबै नाम रुजु गरेपछि निर्वाचन आयोगमा पठाइनेछ। त्यसपछि आयोगले नामावली सार्वजनिक गर्छ।’

सम्मेलनमा एक हजार ९४५ जना प्रतिनिधि सहभागी छन्। अन्तिम नामावली सार्वजनिक भएपछि मात्र निर्वाचनको मिति तय हुनेछ। ‘सम्भवतः भोलिसम्म निर्वाचन हुने सम्भावना छ,’ दीपशिखाले भने।

पार्टी अध्यक्ष प्रचण्डले पनि सकेसम्म सर्वसम्मति नभए निर्वाचनबाट नेतृत्व टुंग्याउन निर्देशन दिएका छन्। नेताहरूका अनुसार दीपशिखासहितका केही नेताहरू सर्वसम्मति गराउने प्रयासमा जुटिरहेका छन्। वाईसीएलका इन्चार्जसमेत रहेका दीपशिखा पूर्वअध्यक्ष भएका कारण उनको अनुकूलता अनुसार नेतृत्व आउन सक्ने अनुमान गरिएको छ।

प्रकाशित: २१ जेठ २०८२ २०:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast