सर्लाहीमा कांग्रेस नेतामाथि शृंखलाबद्ध आक्रमण

हिमाल प्रेस २१ जेठ २०८२ १९:१७
1.2k
SHARES
सर्लाहीमा कांग्रेस नेतामाथि शृंखलाबद्ध आक्रमण

काठमाडौँ- हुलाकी सडक खण्डअन्तर्गत सर्लाहीको गोडैतामा नेपाली कांग्रेसका नेता हरिनन्दनराय यादवमाथि जेठ ७ गते आक्रमण भयो।

गत स्थानीय तह निर्वाचनमा रामनगर गाउँपालिकाको अध्यक्ष पदका लागि कांग्रेसका तर्फबाट उम्मेदवार बनेका हरिनन्दन आफ्नो गाडीमा सदरमुकाम मलंगवाबाट फर्किँदै गर्दा भारतीय नम्बर प्लेटका तीनवटा गाडीमा आएका १५–१६ जनाको समूहले आक्रमण गरेको थियो।

ज्यान जोगाउन गाडी नरोकी भाग्न खोज्दा करिब २/३ किलोमिटरसम्म पछ्याएर वगदह चिनी मिलनजिक घेरा हालेर हरिनन्दनको गाडीमा तोडफोड र कुटपिट भएको थियो।
घटनापछि कांग्रेस नेता हरिनन्दनले आफूलाई कुटपिट गर्ने समूह पेस्तोल निकालेर दुई राउण्ड फायरसमेत गरेको दाबी गरेका थिए। प्रहरीले भने उनको गाडीलाई घेरा हालेर कुटपिट भएको बताए पनि गोली चलेकोबारे पुष्टि गरेको थिएन।

उनले घेरा हालेर आफूलाई कुटपिट गर्ने व्यक्तिहरूको पहिचान भइसकेको र यसबारे प्रहरीलाई जानकारी गराइसकेको बताएका थिए। प्रहरीले पनि घटनामा संलग्न व्यक्तिहरूको पहिचान भइसकेको र खोजी गरिरहेको बताएको थियो।

यो घटना सेलाउन नपाउँदै सर्लाहीमा कांग्रेसका अर्का नेतामाथि आक्रमणको प्रयास भएको छ। र, यसपालि आक्रमणकारीको निशानमा परेका छन् कांग्रेस मधेश प्रदेशका उपसभापति एवं प्रदेश संसदीय दलका उपनेता वीरेन्द्रप्रसाद सिंह।

मधेश प्रदेशका पूर्वमन्त्रीसमेत रहेका सिंहले आफूमाथि जेठ ९ गते आक्रमणको प्रयास भएको बताएका छन्। आफूमाथि आक्रमणको प्रयास भए पनि चपेटामा मधेश प्रदेशका पूर्वअर्थमन्त्री सञ्जय यादव परेको सिंहले बताएका छन्।

उनले गृहमन्त्री रमेश लेखक जनकपुर आएको कार्यक्रममा सहभागी भएर सर्लाही फकिँदै गर्दा आक्रमण भएको उल्लेख गरेका छन्।

हुलाकी सडकखण्डको ब्रह्मपुरी गाउँपालिकाको मेल्हीनजिक पुल निर्माण भइरहेको ठाउँमा राति साढे १० बजेतर्फ बीआर ३० एजे ६८८१ र बीआर ०६ टीसी ०२२१ नम्बर प्लेटका गाडी लिएर बसेका व्यक्तिहरूले सिंह चढ्ने गाडी भन्ठनानेर मधेश प्रदेशका पूर्वअर्थमन्त्री यादवको गाडीमा आक्रमण गरेको बताइएको छ।

पूर्वअर्थमन्त्रीका पीएसओले प्रतिवाद गर्दा र सिंह त्यस गाडीमा नभएको थाहा पाएपछि ती व्यक्तिहरूले ‘हामीले वीरेन्द्र सिहलाई खोजेको’ भन्दै गाडी छोडेको सर्लाही कांग्रेसका सचिव निरज कार्कीले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

सचिव कार्कीका अनुसार पूर्वअर्थमन्त्री यादवको पीएसओले घटनामा प्रयोग भएका गाडीको नम्बरसहितको भिडियो क्लिप र जानकारी तत्काल जिल्ला प्रहरी कार्यालय सर्लाहीलाई गराएका थिए।

यो घटनापछि उपसभापति सिंहले आफ्नो ज्यानको रक्षा, शान्ति सुरक्षा र अपराधीहरूलाई कानुनबमोजिम कारबाही गर्न मौखिक तथा लिखित रूपमा स्थानीय प्रशासनलाई जानकारी गराइसकेका छन्। तर, हालसम्म घटनामा संलग्न कुनै व्यक्तिलाई नियन्त्रणमा लिएर प्रहरीले कारबाही प्रक्रिया अगाडि नबढाएको सर्लाही कांग्रेसले जनाएको छ।
आक्रमणमा संलग्न व्यक्तिहरू खुलारूपले घुमिरहेका कारण आम जनता त्रसित बनेको र शान्ति सुरक्षाको अनुभूति गर्न नसकेको विज्ञप्तिमा भनिएको छ।

सर्लाही कांग्रेसका सचिव कार्की र क्षेत्र नम्बर ४ का क्षेत्रीय सभापति राम आश्रय साहले छुट्टाछुट्टै जारी गरेको विज्ञप्तिमा घटनाको भत्र्सना गर्दै दोषीलाई कारबाहीको दायरमा ल्याउन माग गरेका छन्।

नेता तथा कार्यकर्तामाथि भइरहेको शृंखलाबद्ध आक्रमण असह्य हुने भन्दै सर्लाही कांग्रेसले आन्दोलनको चेतावनीसमेत दिएको छ।

‘हाम्रो नेता तथा कार्यकर्तामाथि पटकपटक भइरहेको सांघातिक आक्रमण सह्य नहुने र तत्काल स्थानीय प्रशासनले अपराधीहरूलाई कारबाहीको दायरामा नल्याए नेपाली कांग्रेस सर्लाही शान्ति सुरक्षा कायम गराउन तथा न्याय स्थापित गराउन कडाभन्दा कडा आन्दोलनका कार्यक्रमहरू तय गरी अगाडि बढ्ने र त्यसको सम्पूर्ण जिम्मेवारी स्थानीय प्रशासनले लिनुपर्ने व्यहोरा जानकारी गराइन्छ,’ विज्ञप्तिमा भनिएको छ।

सर्लाहीमा कांग्रेस नेतामाथि आक्रमण

प्रकाशित: २१ जेठ २०८२ १९:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast