तिलोत्तमामा छुवाछुत गरे कारवाही गर्ने मेयर खाँणको प्रतिवद्धता

हिमाल प्रेस २१ जेठ २०८२ १६:४७
58
SHARES
तिलोत्तमामा छुवाछुत गरे कारवाही गर्ने मेयर खाँणको प्रतिवद्धता

बुटवल– रुपन्देहीको तिलोत्तमा नगरपालिकाले जातीय भेदभाव तथा छुवाछुत गर्नेलाई कानुनअनुसार कारबाही गर्ने प्रतिबद्धता जनाएको छ।

जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवसको अवसरमा तिलोत्तमा नगरपालिकाको आयोजना एवं रेडियो जागरण ९३.६ मेगाहर्जको समन्वयमा बुधवार गरिएको अन्तर संवाद कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख रामकृष्ण खाँणले यस्तो प्रतिबद्धता जनाएका हुन्।

‘तिलोत्तमाभित्र कसैले पनि जातको आधारमा छुवाछुत गरेको पाइए कानुनअनुसार कारवाही हुन्छ,’ नगरप्रमुख खाँणले भने। उनले जातीय भेदभाव वा छुवाछुत भएको अवस्थामा नगरपालिकालाई जानकारी गराउनसमेत आग्रह गरे।

आफूहरू तिलोत्तमा नगरभित्र कुनै पनि प्रकारको भेदभाव नहोस् भन्ने उद्देश्यका साथ काम गरिरहेको उनले बताए। भेदभाव र छुवाछुत अन्त्यका लागि तिलोत्तमा नगरपालिकाले दलित ज्ञान उत्सव गरेर राष्ट्रियस्तरमा बहस गरेको समेत उनले बताए। ‘दलित र गैरदलित समुदाय राष्ट्रियस्तरको नेताहरूलाई सहभागी गराएर कार्यक्रम गरेका छौँ,’ नगरप्रमुख खाँणले भने।

उनले नगरपालिकाले पेसालाई मर्यादित, आधुनिकीकरण गर्न समेत नगरपालिकाले लगानी गरिरहेको बताए।

यस्तै कार्यक्रममा तिलोत्तमा नगरपालिकाका उपप्रमुख जागेश्वरीदेवी चौधरीले जातीय भेदभाव विरुद्ध समुदायस्तरमै सचेतना जगाउनुपर्नेमा जोड दिइन्। उनले कानुनी रूपमा छुवाछुत अन्त्य भएको भए पनि व्यवहारमा अन्त्य गर्न लाग्नुपर्ने बताए। उपप्रमुख चौधरीले दलित समुदायको परम्परागत सिपलाई संरक्षण र प्रवर्द्धन गर्नुपर्ने बताए।

यसैगरी अन्तरसंवाद कार्यक्रममा तिलोत्तमा क्षेत्रका राजनीतिक पार्टीहरूका तर्फबाट नेपाली कांग्रेस नगर सभापति हरिलाल पाण्डेय, नेकपा एमाले नगर अध्यक्ष मीनप्रसाद पोख्रेल, नेकपा एकीकृत समाजवादी नगर अध्यक्ष रामचन्द्र भट्टराई, जनमुक्ति पार्टीका नगर उपाध्यक्ष प्रेम कनौजेले बोल्दै जातीय छुवाछुत पूर्ण अन्त्यका लागि प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा तिलोत्तमा नगरपालिकाका सामाजिक विकास समितिका संयोजक एवं कार्यपालिका सदस्य रवि सेन्चुरीले पहिलो चरणमा आफूहरू अध्ययन अनुसन्धानमा लागेको बताउँदै नीतिगत र कार्यक्रमका हिसाबले दलित समुदायको क्षेत्रमा काम भइरहेको बताए। उनले तिलोत्तमा दलित ज्ञान उत्सवदेखि दलित समुदायको रणनीतिक विकास योजना र पार्श्वचित्र प्रकाशन गरिएको प्रस्तुति राखे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast