राजतन्त्र समर्थक नेतालाई सरकारको सर्त : आन्दोलन रोक अनि सुरक्षाकर्मी फिर्ता गर्छौँ

हिमाल प्रेस २१ जेठ २०८२ १३:३५
34
SHARES
राजतन्त्र समर्थक नेतालाई सरकारको सर्त : आन्दोलन रोक अनि सुरक्षाकर्मी फिर्ता गर्छौँ राज्य व्यवस्था तथा सुशासन समितिको बुधबार सिंहदरबारमा बसेको बैठक। तस्बिर : रासस

काठमाडौँ- सरकारले राजतन्त्र समर्थक नेताहरूबाट खोसिएका सुरक्षाकर्मी आन्दोलन रोकिएपछि मात्रै फिर्ता गर्ने भएको छ। गृहमन्त्री रमेश लेखकले बुधबार संसद्को राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा यस्तो जानकारी दिएका हुन्।

उनले भने, ‘राजावादीको आन्दोलन रोकिएपछि राजतन्त्र समर्थक नेताहरूलाई यसअघि दिइएको सुरक्षाकर्मी पुन: खटाइनेछ।’ राजतन्त्र समर्थक नेताहरू आन्दोलनमा उत्रिएपछि उनीहरूलाई दिइँदै आएको सुरक्षाकर्मीलाई सरकारले फिर्ता बोलाएको थियो। सुरक्षाकर्मीहरू आन्दोलनमा खटिनुपर्ने भएकाले फिर्ता बोलाइएको लेखकको भनाइ छ।

मन्त्री लेखकले संविधान विरोधी काममा नलाग्न आग्रह गर्दै अराजक गतिविधि भए राज्यले आवश्यक कारबाही गर्ने स्पष्ट पारे। उनले भने, ‘गणतन्त्र, संघीयता, लोकतन्त्र, समावेशीताबाट पछि फर्कने कुराले मुलुक अन्धकारतर्फ लैजान्छ।’

बैठकमा राप्रपा सांसद बुद्धिमान तामाङले आफूहरूको आन्दोलनलाई दमन गर्ने काम भएको भन्दै आपत्ति जनाएका थिए। उनले आफ्ना नेताहरूलाई दिएको सुरक्षा सुविधा नियमविपरीत फिर्ता गरिएको गुनासो गरेका छन्।

तामाङले आन्दोलनका क्रममा राज्यले दमन गर्दा घाइते भएकाहरूको सरकारले उपचार गर्नुपर्ने माग राखे। बैठकमा नेपाल नागरिकता ऐन,२०६३ लाई संशोधन गर्न बनेको विधेयक, २०८१ माथि सैद्धान्तिक छलफल भएको थियो।

प्रकाशित: २१ जेठ २०८२ १३:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast