जनकपुरका नगर प्रहरी ‘अराजक’,  मानवसेवा आश्रमका सञ्चालकमाथि कुटपिट 

हिमाल प्रेस २१ जेठ २०८२ १३:१२
जनकपुरका नगर प्रहरी ‘अराजक’,  मानवसेवा आश्रमका सञ्चालकमाथि कुटपिट  जनकपुरधाम उपमहानगरपालिकामा रहेको मानवसेवा आश्रम।

काठमाडौँ- जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रहरीले मानवसेवा आश्रमका सञ्चालकसहित सदस्यहरूलाई कुटपिट गरेको घटना बाहिरिएको छ। यसअघि व्यवसायीमाथि कुटपिट र साँढेहरूलाई सुई दिई बेहोस बनाएर आलोचित बनेका उपमहानगरका नगर प्रहरीको समूहले मानवसेवा आश्रमका सदस्यहरूलाई कुटपिट गरेको घटना बाहिरिएको हो।

नगर प्रहरीको एक समूहले सोमबार राति असहायहरूको सेवा गरिरहेका मानवसेवा आश्रमका सञ्चालकसहित सदस्यहरूलाई जनकपुरधामको राराब क्याम्पस चोकनजिक कुटपिट गरेका छन्। आश्रमकी सञ्चालिका काव्या पोखरेलले आमाहरूको उद्धार गर्न गइरहेका बेला क्याम्पसचोकमा करिब एक दर्जन समूहमा रहेका नगर प्रहरीले आफूहरूलाई कुटपिट गरेको बताएकी छन्।

‘दुईजना आमाहरूको उद्धार गर्न गइरहेका थियौँ। क्याम्पसचोकमा रहेका करिब एक दर्जन नगर प्रहरीले लाठी प्रहार गरेर कुटपिट गरे,’ उनले भनिन्, ‘काखमा रहेको कुकुरलाई पनि छोडेनन्, यो घटनाले स्तब्ध बनाएको छ।’

मानवसेवा आश्रमका सदस्यहरूमाथि भएको घटनाबारे आश्रमका अर्का सञ्चालक सुमन बर्तौलाले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराएका छन्। उनले हनुमानचोकमा एकजना वृद्धाको उद्धारका लागि गइरहेका बेला आफूहरूमाथि क्याम्पसचोकमा नगर प्रहरीले आक्रमण गरेको उल्लेख गरेका छन्।

‘…जति सकिन्छ चाँडो उद्धार गरिदिनुहोला भन्ने खबर आएकाले हामी मोटरसाइकलमा जाँदै थियौँ। आश्रममै पालिएको सिरु (कुकुर) मोटरसाइकलको पछिपछि आयो। बाटोमा अरु पनि कुकुर थिए। सिरुमाथि आक्रमण हुन सक्ने भएकाले क्याम्पस गेटमा पुगेपछि मोटरसाइकलको स्पिड कम गर्‍यौँ,’ उनले लेखेका छन्, ‘एक्कासि सिरुको खुट्टामा लौरो बजारियो। आफूलाई संयमित बनाउँदै मेले नरम स्वरमै सोधेँ– कुकुरलाई किन कुटेको? ककुरले चाहिँ बाँच्न पाउन पर्दैन?’

यति भनेपछि आफूहरूसँगै रहेका राजवीरमाथि नगर प्रहरीहरूले लाठीले आक्रमण गरेको र मोबाइल फोन पनि फुटाइदिएको बर्तौलाले उल्लेख गरेका छन्। राजवीरलाई बचाउने प्रयास गरेकी काव्यमाथि धकेलाधकेल गरेर उनीहरूले दुव्र्यवहार गरेको बर्तौलाले बताएका छन्।

‘ममाथि पनि हमला हुन लागेपछि मैले मोबाइलले भिडियो बनाउन खोजे। जबरजस्ती मोबाइल खोसियो। लछारपछार गरियो। काव्या राजवीरलाई बचाउन गइन्। उनीमाथि पनि धकेलाधकेल भयो, अमानवीय व्यवहार भयो। हामी उद्धारकै लागि गइरहेका थियौँ। त्यसैले प्रहरी सँगै हुनुहुन्थ्यो। उहाँ घटनाको साक्षी हुनुहुन्छ,’ बर्तौलाले लेखेका छन्।

आफूहरूमाथि आक्रमण भइरहेकै बेला स्ववियु सभापति मनीष यादव पुगेपछि नगर प्रहरी हच्किएको उनको भनाइ छ। घटनाबारे जानकारी गराउन घटनास्थलबाट नजिकै रहेको मेयर मनोज साहको घर पुगे पनि उनले भोलिमात्रै कुरा गर्ने जानकारी गराएको बर्तौलाले बताएका छन्।

‘नगर प्रहरीको यस्तै व्यवहारले मेयर बदनाम हुन्छन् भन्ने लागेर उहाँलाई भेट्न मेयर साहबको घर पुग्यौँ,’ उनले भनेका छन्, ‘फोन गरे, उठाउनु पनि भयो र भोलि भेटेर कुरा गरौँला भन्नुभयो।’ मेयर साहले कुरा नगरेपछि आफूहरू पुनः उद्धारतर्फ अगाडि बढेको बर्तौलाले बताए। उनले भनेका छन्, ‘उहाँको अनिच्छाले हामी फेरि उद्धारतर्फ अघि बढ्यौँ। खै के सोचेर मेयर साहबले फेरि फोन त गर्नुभयो, मलाई उठाउने मन भएन। मन साह्रै रोएको थियो।’

उपमहानगरका नगर प्रहरीयसअघि पनि विवादमा तानिएका थिए।  सरसफाइको निहुँमा कतिपय व्यवसायीमाथि कुटपिट गरेको आरोप उनीहरूमाथि लागेको छ। पसलबाहिर फोहोर फ्यालेको भन्दै नगर प्रहरीले व्यवसायीलाई कुटपिट गरेको घटनाको विरोधमा जनकपुरधाम उद्योग वाणिज्य संघ नै उत्रिएको थियो।

फोहोर व्यवस्थापनका लागि ठोस नीति र योजना बनाउन नसकेको मेयर साहले नगर प्रहरी भिडाएर कुटपिट तथा गालीगलौज गरेर दुर्व्यवहार  गर्ने गरेको भन्दै व्यवसायीहरू विरोधमा उत्रिएका थिए।

त्यस्तै छाडाचौपाया नियन्त्रणको नाममा साँढेलाई सुई दिई बेहोस पारेर डोजरमा राखी राजमार्ग छेउको जंगल तथा खोला किनारमा फ्यालेको घटनालाई लिएर उपमहानगरका मेयर साहको चौतर्फी आलोचना भएको थियो। साँढेलाई बेहोस बनाउन सुई लगाउने कामको विरोध गर्दा समेत नगर प्रहरीले केही स्थानीयलाई कुटपिट गरेका थिए।

प्रकाशित: २१ जेठ २०८२ १३:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast