दक्षिण कोरियाको राष्ट्रपतिमा ली जे-म्युङ निर्वाचित

हिमाल प्रेस २१ जेठ २०८२ ११:५७
10
SHARES
दक्षिण कोरियाको राष्ट्रपतिमा ली जे-म्युङ निर्वाचित सोलमा समर्थकहरूलाई अभिवादन गर्दै दक्षिण कोरियाको राष्ट्रपति पदमा निर्वाचित ली जे-म्युङ (बायाँ) र उनकी पत्नी किम हेआ क्युङ । तस्बिर : एपी/रासस

काठमाडौँ- उदारवादी(डेमोक्र्याटिक) पार्टीका ली जे-म्युङ बुधबार दक्षिण कोरियाको राष्ट्रपति पदमा निर्वाचित भएका छन्। पूर्वराष्ट्रपति युन सुक योल र उनको पिपुल्स पावर पार्टीविरुद्ध महिनौँदेखि चलिरहेको राजनीतिक अस्थिरतापछि ली निर्वाचित भएको समाचार एजेन्सी एपीले जनाएको छ।

लीका प्रतिस्पर्धी रूढिवादी पिपुल्स पावर पार्टीका किम मुन-सु पराजित भएका छन्। यो निर्वाचन युनलाई गत डिसेम्बरमा छोटो समयका लागि मार्सल कानुन लागू गरेपछि पदबाट हटाइएपछि भएको थियो।

नवनिर्वाचित राष्ट्रपतिले गम्भीर चुनौती सामना गर्नुपर्नेछ। लीले दक्षिण कोरियाको कमजोर बन्दै गएको अर्थतन्त्र सुधार्ने उपाय खोज्नुपर्नेछ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग करसम्बन्धी वार्ता गर्नुपर्नेछ। मुख्य मित्रराष्ट्र अमेरिका र सबैभन्दा ठूलो व्यापारिक साझेदार चीनबीचको तनाव व्यवस्थापन गर्नुपर्ने जिम्मेवारी पनि लीमाथि आइलागेको छ।

ली पछिल्ला केही दशकयताका सबैभन्दा शक्तिशाली दक्षिण कोरियाली राष्ट्रपतिका रूपमा उभिन लागेका छन्। डेमोक्र्याटिक पार्टीले राष्ट्रियसभामा नियन्त्रण राखेको छ। विश्लेषकका अनुसार उक्त समर्थनले लीलाई आफ्नो कानुनी एजेन्डा अघि बढाउन मद्दत गर्ने अपेक्षा छ।

लीको राष्ट्रपति कार्यकालमा अनिश्चितता रहने सम्भावना भने कायमै छ। उनीमाथि राजनीतिक प्रतिशोधस्वरूप लगाइएका भनिएका थुप्रै आपराधिक अभियोगमा मुद्दा चलिरहेको छ। ती मुद्दा उनको पाँचवर्षे कार्यकाल सकिँदासम्म स्थगित गरिने कि नगर्ने भन्ने विषयमा विवाद कायमै छ।

यो प्रतिस्पर्धा ली, किम वा उनीहरूको नीतिभन्दा पनि बढी उनीहरूले प्रतिस्थापन गर्न चाहेका व्यक्तिबारे थियो भन्ने व्यापक धारणा थियो। युनलाई राष्ट्रियसभाले महाभियोग लगाएको थियो। उनलाई गत अप्रिलमा संविधानिक अदालतले औपचारिक रूपमा पदबाट हटाएको थियो।

त्यस घटनाले मंगलबार भएको निर्वाचनको मार्गप्रशस्त गरेको छ। निर्वाचनलाई युन र उनको पार्टीमाथिको जनमतसंग्रहका रूपमा लिइएको थियो।

निर्वाचन आयोगका अनुसार निर्वाचनमा ७९ प्रतिशतभन्दा बढीले मतदान गरेका छ्न्। यो सन् १९९७ यताकै सबैभन्दा धेरै सहभागिता हो।

प्रकाशित: २१ जेठ २०८२ ११:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast