
काठमाडौँ- निर्वाचन आयोगले रमेशप्रसाद यादवलाई नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को झण्डा र लोगो अनधिकृत रूपमा प्रयोग नगर्न सचेत गराएको छ। आयोगले यस्तो कार्य दोहोरिएमा प्रचलित कानुन अनुसार कारबाही हुने बताएको छ।
नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)ले २०८२ जेठ ४ गते निर्वाचन आयोगमा निवेदन दर्ता गर्दै रमेश यादवद्वारा जारी गरिएको विज्ञप्तिमा आफ्नो दलको झण्डा र लोगो अनधिकृत रूपमा प्रयोग भएको उल्लेख गरेको थियो। पार्टीले यसलाई गैरकानुनी भन्दै छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेको थियो।
उक्त उजुरीको आधारमा आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाले जेठ १६ गते रमेश यादवलाई पत्र पठाएको छ। आयोगका अनुसार नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) २०७८ साल फागुन ४ गते दर्ता भई हाल दल दर्ता नम्बर १८२ अन्तर्गत आयोगमा विधिवत रूपमा कायम छ। सोही अनुसार पार्टीको नाम, विधान, झण्डा, चिन्ह तथा पदाधिकारी विवरण आयोगको अभिलेखमा दर्ता गरिएको छ।
राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ९ अनुसार दर्ता भएको दलको नाम, झण्डा र चिन्ह अन्य व्यक्तिले प्रयोग गर्न नपाउने कानुनी व्यवस्था छ। आयोगको अभिलेख अनुसार रमेशप्रसाद यादव हाल नयाँ शक्ति दलको केन्द्रीय समितिमा कुनै पनि पदमा नरहेको समेत स्पष्ट गरिएको छ।
पत्रमा भनिएको छ, ‘तपाईँले प्रयोग गर्नुभएको झण्डा र लोगो नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)कै भएको पुष्टि भएकोले यस्तो कार्य ऐनको दफा ९ विपरीत ठहरिन्छ। त्यसैले यस्ता गतिविधि अब नगर्न तथा नगराउन आयोगद्वारा सचेत गरिन्छ।’
आयोगले नयाँशक्ति दललाई बोधार्थ जानकारी गराउँदै यो निर्देशन पठाएको हो। नेसपा महासचिव भनिएका पार्टीको नेपाल समाजवादी पार्टी अध्यक्षमा महिन्द्र राय यादव छन्।