रुसले युक्रेनमाथि लगायो रेल विस्फोटको आरोप, सात जनाको मृत्यु

हिमाल प्रेस २० जेठ २०८२ २०:४८
32
SHARES
रुसले युक्रेनमाथि लगायो रेल विस्फोटको आरोप, सात जनाको मृत्यु तस्बिरः रोयटर्स

मस्को (रासस/एएफपी)- रुसले आफ्नो पश्चिमी सीमा क्षेत्रमा भएको रेल विस्फोटको पछाडि युक्रेनको हात रहेको आरोप लगाएको छ। शनिबार राति ब्रायान्स्क क्षेत्रमा भएको विस्फोटमा सडक पुल भत्किँदै रेल दुर्घटना भएको थियो। जसमा सात जनाको मृत्यु भएको थियो। दर्जनौं घाइते भए।

रुसको अनुसन्धान समितिले टेलिग्राममार्फत जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘किएभ शासनको आदेशमा काम गर्ने आतंककारीहरूले सयौं निर्दोष नागरिकलाई लक्षित गरेर योजनाबद्ध रूपमा आक्रमण गरेका हुन्।’

मस्कोले यसअघि विस्फोटलाई ‘आतंकवादी हमला’ भने पनि सोझै युक्रेनमाथि आरोप लगाएको थिएन। घटनास्थलबाट विस्फोटक उपकरणका टुक्रा फेला परेको र प्रत्यक्षदर्शी तथा घाइतेहरूको बयान संकलन गरिएको छ।

त्यसै गरी छिमेकी कुर्सक क्षेत्रमा आइतबार बिहान अर्को रेल पुलमा पनि विस्फोट गराइएको थियो, जसमा मालवाहक रेल पटरीबाट झरेको थियो। सो घटनामा चालक घाइते भएका थिए।

क्रेमलिनले घटनाबारे थप जानकारी दिन अस्वीकार गर्दै अनुसन्धान जारी रहेको बताएको छ।

रुसले सन् २०२२ मा युक्रेनमाथि सैन्य आक्रमण थालेपछि आफ्नो रेल नेटवर्कमा दर्जनौं तोडफोडका घटनाहरू भोग्दै आएको छ। युक्रेनले भने रूसले आफ्नो सैनिक र हतियारहरूलाई युद्धभूमितर्फ पठाउन रेलमार्ग प्रयोग गरेको दाबी गर्दै आएको छ।

प्रकाशित: २० जेठ २०८२ २०:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast