राइड सेयरिङसम्बन्धी नियमावली एक महिनाका लागि रोकियो

हिमाल प्रेस २० जेठ २०८२ १९:४६
70
SHARES
राइड सेयरिङसम्बन्धी नियमावली एक महिनाका लागि रोकियो

पोखरा- गण्डकी प्रदेश सरकारले राइड सेयरिङसम्बन्धी नियमावली एक महिनाका लागि स्थगित गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले अनुरोध गरेपछि एक महिनाका लागि गण्डकी प्रदेश सरकारले राइड सेयरिङ (नियमन र व्यवस्थापन) नियमावली, २०८२ रोकेको हो।

गण्डकी प्रदेश सचिव एवं प्रदेश वार्ता समिति संयोजक कमलकुमार अधिकारीले मंगलबार विज्ञप्ति जारी गर्दै संघीय सरकारबाट यातायात बन्दका कार्यक्रम फिर्ता गरी जनजीवन सामान्यीकरण गर्ने वातावरण बनाउन राइड सेयरिङसम्बन्धी प्रावधानको कार्यान्वयन हाललाई स्थगन गर्न अनुरोध आएपछि नियमावली रोकिएको बताए।

उनका अनुसार भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, गण्डकी प्रदेशबाट गठन भएको वार्ता समितिले सरोकारवाला पक्ष (यातायात सम्बन्धित महासंघ र संघ संगठनहरु) लाई वार्ताको लागि पुनः आह्वान गरी वार्ता सम्पन्न गर्न एक महिनाको अवधि तोकेको छ।

सोमबार राति यातायात व्यवसायीसँग काठमाडौंमा भएको वार्तापछि गण्डकी प्रदेशलाई पत्राचार भएबमोजिम मंगलबार गण्डकीमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे तथा उपलब्ध मन्त्रीहरूबीच छलफल भएको थियो। त्यसपछि नियमावली रोक्ने निर्णय भएको हो।

सार्वजनिक यातायात व्यवसायीहरूले यो नियमावलीको विरोधमा देशभरकै सार्वजनिक यातायात सेवा अवरुद्ध गरेका छन्। यो निर्णयसँगै सार्वजनिक यातायात खुल्ने संकेत देखा परेको छ।

सार्वजनिक यातायात व्यवसायी महासंघ गण्डकी सचिव योगेन्द्रबहादुर केसीले यातायात बन्द खुल्ने संकेत देखा परेको प्रतिक्रिया दिए। उनले भने, ‘गण्डकी प्रदेशले नियमावली रोक्ने निर्णय गरेपछि अहिले केन्द्रमा छलफल भइरहेको जानकारी पाएको छु।’

प्रकाशित: २० जेठ २०८२ १९:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast