
धनुषा- जनकपुरधाममा दुई दिने थारु अन्तर्राष्ट्रिय सांस्कृतिक सम्मेलन सात बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ।
थारु अन्तर्राष्ट्रिय महासभा तथा विभिन्न थारु संघ संस्थाको संयुक्त आयोजनामा जनकपुरधाममा दुई दिने थारु अन्तरराष्ट्रिय सांस्कृतिक सम्मेलन आयोजना भएको थियो। सम्मेलनमा नेपाल र भारतका थारु प्रतिनिधिको सहभागिता रहेको थियो।
सम्मेलनमा महासभाको अवधारणा, उद्देश्य, संगठनात्मक सिद्धान्त तथा हाल थारु समुदायले भोगिरहेका साझा समस्या समाधानका उपायबारे छलफल भएको आज (मंगलबार) यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो। पत्रकार सम्मेलनमा सात बुँदे घोषणापत्रबारे जानकारी दिइएको थियो।
घोषणापत्रमा आतंकवादको कडा भर्त्सना गर्दै थारु समुदायको भाषा–संस्कृति र इतिहासको संरक्षण, आदिवासी अधिकारका पक्षमा अन्तरराष्ट्रिय पहल तथा सांस्कृतिक अनुसन्धान केन्द्र स्थापनाको विषय समावेश गरिएको छ।
त्यसै गरी, थारु अन्तर्राष्ट्रिय महासंघको नेपाल च्याप्टर गठन गर्ने निर्णय भएको छ। च्याप्टर गठन गर्ने कार्यको संयोजकमा श्रवण थारुलाई चयन गरिएको छ।
सम्मेलनले अन्य देशमा पनि संगठन विस्तार गर्दै थारु समुदायका अधिकार र पहिचान संरक्षणमा समन्वयकारी भूमिका खेल्ने विषयमा पनि छलफल गरेको जनाइएको छ।